आज कोभिसिल्ड र भेरोसेल गरी ३० लाख ७२ हजार डोज खोप आउँदै

काठमाडौं, ५ पुस । कोभिडविरुद्धको खोप अभियानका लागि सरकारले आज कोभिसिल्ड र भेरोसेल गरी ३० लाख ७२ हजार ३८७ डोज खोप प्राप्त गर्दैछ । आज एकै दिन कोभिसिल्ड खोप भारतबाट र भेरोसेल खोप चीनबाट आउन लागेको हो ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका अनुसार आज १८ लाख ७० हजार ५०० डोज कोभिसिल्ड र १२ लाख १ हजार ८८७ डोज भेरोसेल खोप नेपाल भित्रदै छ ।

आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाका अनुसार आज प्राप्त हुँदै गरेको कोभिसिल्ड काभ्याक्स सुविधा अन्तरगर्तको अनुदानको खोप हो । यस्तै भेरोसेल खोप एसियाली विकास बैंक (एडीवी)को सहुलियत ऋण सहयोगमा खरीद गरिएको खोप हो ।

भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाको उत्पादन रहेको कोभिसिल्ड नेपालमा कोभिडविरुद्धको खोपको प्रारम्भ गर्दा प्रयोग भएको थियो । चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट साइनोफार्मको उत्पादन भेरोसेल खोप नेपालमा सबैभन्दा बढी प्रयोग भएको खोप हो ।

दुबै खोपहरु सामान्य तापक्रम २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न मिल्छ । यो दुबै खोप दुई डोज लगाउनु पर्नेछ । दुबै खोप १८ वर्ष माथिका नागरिकलाई मात्रै दिन मिल्छ ।

पछिल्लो समय नेपालमा अमेरिकी कम्पनीका मोडर्ना, फाइजर र जानसन खोपहरु भित्रिरहेको छ । मोडर्ना र फाइजर खोपहरु १२ देखि १७ वर्ष माथिका बालबालिकाहरुलाई दिइदै छ ।

चौरसियाले खोप भण्डारणको क्षमता बढाउँदै लगिएको र पहिले आएका खोपहरु लगाउने क्रममा रहेकोले थप खोपहरु भित्र्याउने क्रमलाई तिब्रता दिइएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *