संसद चल्नु अघिल्लो दिन सांसद तथा सुरक्षाकर्मी गरी ६४० जनाको कोभिड परीक्षण, ४ जना पोजेटिभ

काठमाडौँं २७ मंसिर । सरकारले भोलिदेखि शुरु हुन लागेको संसद बैठकलाई लक्षित गरि सांसद, संसद सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मी गरी ६४० जनाको कोभिड – १९ परीक्षण गरेको छ । एन्टीजेन विधिबाट गरिएको सो परीक्षणमा ४ जनामा कोभिड – १९ पोजेटिभ देखिएको छ ।

पोजेटिभ आउने ४ जनामा दुई जना संसद सचिवालयका कर्मचारी र दुई जना सुरक्षाकर्मी रहेको परीक्षण गर्न जाने स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)को टोलीले जानकारी दिएको छ ।

स्वास्थ्यटोलीको नेतृत्व गरेका इडिसिडीका ल्याव टेक्निसियन निरीक्षक भोला अधिकारीले विहान ११ देखि दिउसो सवा तीन बजेसम्म १५७ जना सांसद सहित ६४० जनाको कोभिड परीक्षण गरेको बताए । उनले अझै २६० जनाको परीक्षण गर्न बाँकी रहेको  र उनीहरुको भोलि विहान ११ बजे देखि परीक्षण गरिने जानकारी दिए ।

यसअघि संसद सचिवालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत इडिसिडीलाई सांसद, कर्मचारी, सुरक्षाकर्मी, मर्यादापालक र सवारी चालक गरी कुल ९०० जनाको कोभिड परीक्षण गरिदिन भनेको थियो । सोही अनुसार आज परीक्षण गरिएको अधिकारीले बताए । परीक्षणका लागि इडिसिडीबाट ८ जनाको प्राविधिक टोली खटिएको उनले सुनाए ।

एन्टिजेन परीक्षणका लागि नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, स्काई लाइट हल, तोकिएको थियो ।

परीक्षणका लागि सभामुख सहित अन्य पार्टीका सांसद आएको भए पनि कांग्रेस तर्फका सांसदहरु उपस्थित भएका छैनन् । ‘अधिवेशन चलिरहेकोले आज आउन नभ्याउनु भएको हो भन्ने बुझेका छौँ,’ अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *