‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानको शुभारम्भ

काठमाडौँ, १७ मंसिर । आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले नागरिक आयोग्य कार्यक्रम अन्तरगर्त ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ अभियानको शुभारम्भ गरेको छ ।

स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ, निमित्त स्वास्थ्य सचिव डा गुणराज लोहनी र विश्व स्वास्थ्य संगठनका देशीय प्रतिनिधि डा राजेशसम्भाजीराव पाण्डवको उपस्थितिमा यो अभियानको शुभारम्भ गरिएको हो ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा राज्यमन्त्री खापुङले अभियानका लागि चाहिने नागरिक आरोग्य कार्यक्रम हातेपुस्तिका तथा श्रव्यदृश्य सामग्रीको लोकार्पण गरे । सो अवसरमा बोल्दै राज्यमन्त्री खापुङले प्रत्येक व्यक्ति स्वस्थ रहनका लागि मुख्य भूमिका आफू स्वयंको रहने भन्दै त्यसका लागि यो कार्यक्रम फलदायी हुने बताए ।

उनले भने, ‘व्यक्ति स्वस्थ हुनका लागि स्वस्थ जीवनशैली र आहारविहारको खाँचो छ भन्ने धेरैलाई थाहा छ तर त्यो कसरी गर्ने भन्ने बारेमा धेरैलाई जानकारी नहुन सक्छ । त्यसैले यो अभियान आम जनतालाई कसरी स्वस्थ बनाउने भन्ने बारेमा सहयोगीसिद्ध हुनेछ ।’

विभागका महानिर्देशक डा बासुदेव उपाध्यायले मेरो स्वास्थ्य मेरो जिम्मेवारी नारा सहित नागरिक आरोग्य कार्यक्रममो सुरुवात भएको भन्दै यसलाई अब स्थानीय तहसम्म पुर्‍याउने बताए ।

‘आजबाट हामीले नागरिक आरोग्य कार्यक्रम हाते पुस्तिका र भिडियो क्लिपको शुभारम्भ गरेका छौँ । यसमा व्यक्ति स्वस्थ बन्नका लागि दिनचार्य कसरी गर्ने ? कस्तो जीवनशैली अपनाउने ? स्वस्थ भोजन कसरी गर्ने ? के खाने ? कतिवेला कसरी खाने लगायतका व्यक्तिले पाउने थाहा पाउनुपर्ने सम्पूर्ण जानकारी दिइएको छ । यसको उदेश्य जनतालाई स्वस्थ र सचेत बनाउनु हो,’ डा. उपाध्यायले भने ।

उनले अस्पताल खोल्दैमा व्यक्ति स्वस्थ नहुने भन्दै स्वस्थ हुनका लागि खानपान र जीवनशैलीमा ध्यान दिनुपर्नेमा जोड दिए ।

महानिर्देशक डा. उपाध्यायले यो कार्यक्रम प्रत्येक पालिकाको वडा तहसम्म पुर्‍याउने योजना रहेको बताए ।

‘यो कार्यक्रममा प्रत्येक पालिकाको वडा तहसम्म जान्छ जनतालाई सचेत बनाउनका लागि प्रत्येक पालिका नागरिक आरोग्य समूह गठन गरिन्छ र सो समूहमार्फत मेरो स्वास्थ्य मेरो जिम्मेवारी अभियान व्यक्ति व्यक्तिकोमा पुर्‍याउछौँ,’ उनले भने ।

अभियानका लागि विभागले बनाएको कार्ययोजना समेत मन्त्रालयले स्वीकृत गरिसकेको डा उपाध्यायले जानकारी दिए । उनले अभियान सञ्चालनका लागि विश्व स्वास्थ्य संगठनको सहयोग रहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *