नेपालमा पहिलो पटक मोडर्ना खोप आउँदै, १२ वर्ष माथिकालाई दिने तयारी

काठमाडौँ, १६ मंसिर । कोभिडविरुद्धको खोपको सूचीमा नेपालले थप नयाँ खोप प्राप्त गर्ने भएको छ । कोभ्याक्स सुविधा अन्तरगर्त नेपालमा शुक्रबार (भोली) १ लाख ८८ हजार डोज मोडर्ना खोप आउने भएको छ ।

यो खोप आइसकेपछि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिने तयारी सरकारी अधिकारीहरुले गरेका छन् । यद्धपी औपचारिक निर्णय भने भइसकेको छैन् ।

‘कुन उमेर समूहकालाई दिने भनेर अहिलेसम्म निर्णय भइसकेको छैन् । आइतबार खोप सल्लाहकार समितिको बैठक बस्दैछ, त्यसले निर्णय गर्छ होला,’ स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले भने ।

त्यसो त विश्व स्वास्थ्य संगठनले मोडर्ना खोप १२ वर्ष माथिको उमेर समूहलाई लगाउन सक्ने गरी अनुमति दिएको छ । नेपालले डव्लुएचओको नीति अनुसरण गर्ने भएकोले यो खोप पनि १२ देखि १७ वर्ष उमेर समूहलाई दिने योजना बनाइएको बताइएको छ ।

यसअघि अमेरिकी अर्को खोप फाइजर आउँदा सो खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दिइएको थियो ।
मोर्डना खोप माइनस १५ देखि २५ डिग्री तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

नेपालमा अहिलेसम्म कोभिडविरुद्धका लागि भनेर बनाइएका कोभिसिल्ड, भेरोसेल, एस्टाजेनेका, जानसन र फाइजर खोप लगाईसकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *