१३ वर्ष देखि फुल्लिएको पेट बोकेका सार्कीको वीर अस्पतालमा नि:शुल्क उपचार सुरु

काठमाडौँ, ६ मंसिर । विगत १३ वर्ष अघि देखि एसाइटिस (पेटमा पानी जमेको) रोगबाट पिडीत अर्घाखाँची नगरपालिका ९ नौलापानीका श्यामलाल सार्कीको उपचार शुरु भएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाको विशेष चासो र निर्देशन पछि वीर अस्पतालमा उनको उपचार सुरु भएको हो ।

विपन्न, गरीव र दलित परिवारमा जन्मिएका ४९ वर्षीया सार्कीलाई गत शुक्रबार मेडिकल वार्डको बेड नं १२३ मा राखेर उपचार भैरहेको छ । गत शुक्रबारबाट उहाँको उपचार वीर अस्पतालमा सुरु भएको छ ।

‘यो केशमा स्वास्थ्य मन्त्रीको विशेष चासो रहेका कारण सचिवालयले यसको निगरानी र समन्वय गरेको छ । उहाँ दलित विपन्न भएको कारणले पनि अस्पतालबाट हुनसक्ने सबै सुविधा निशुल्क व्यवस्था गर्दैछौँ,’ मन्त्री खतिवडाका प्रेस सल्लाहकार शन्तराम बिडारीले भने ।

विडारीका अनुसार उनको अल्ट्रासाउन्ड, इन्डोस्कोपी लगायतका परीक्षण भइसकेको छ । कलेजोमा समस्या देखिएको र पेटको पानी निकाल्ने काम पनि हरेक दिनजसो भैरहेको चिकित्सकहरुले जनाएका छन् ।

सो पानी समेत परीक्षणका लागि दिइएको र त्यसको रिपोर्ट विहीबार सम्म आउने अस्पतालले जनाएको छ । उक्त रिपोर्ट आएपछि कसरी उपचार गर्ने भन्ने बारेमा चिकित्सकहरु निष्कर्षमा पुग्ने बताइएको छ ।

विरामीलाई भर्ना गरेर उपचार थालिएको र अस्पतालमा उपलव्ध भएजतिका औषधी, खाना लगायत अन्य व्यवस्था निशुल्क गरिएको छ । बाहिर किन्नुपर्ने औषधी खर्चका लागि पनि अभियन्ताहरुले सहयोग अभियान चलाएको बिरामी रेखदेख गर्दै आएका सन्तोष लोहनीले जानकारी दिए ।

पेटमा पानी जमेका कारण सार्कीलाई हिडडुल गर्न समेत अफ्टेरो परेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *