सदस्यले तथ्यांक दुरुपयोग गरेको चर्चा चलेपछि काउन्सिलले बोलायो आकस्मिक बैठक

काठमाडौँ, ३ मंसिर । नेपाल मेडिकल काउन्सिलले आफ्ना एक जना एक जना सदस्यबाटै तथ्यांक दुरुपयोग गरेको भन्ने चर्चा चलेपछि आकस्मिक बैठक बोलाएको छ । काउन्सिलले आगामी आइतबार आकिस्मक बैठक बोलाएको हो ।

आज देखि सुरु भएको काउन्सिलको निर्वाचनमा सदस्य पदमा उठेका डा कालुसिंह खत्री र डा तोसीमा कार्कीले काउन्सिलमा रहेको चिकित्सकहरुको गोप्य नम्बर लिएर एसएमएस पठाएको आरोप लागेको छ । डा खत्री काउन्सिलको निवर्तमान सदस्य हुन् । निर्वाचनका बेला १५ हजार बढीलाई ३७८८८ बाट भकाभक म्यासेज जान थालेपछि कतिपय चिकित्सकहरुले आफ्नो गोप्य नम्बर कसरी उम्मेद्धारको हातमा प¥यो भन्दै काउन्सिलको ध्यानाकषर्ण गराएका थिए ।

सो क्रममा उनीहरुले चार वर्ष देखि सदस्य रहेका डा खत्रीमाथि नम्बर दुरुपयोगको आरोप लगाएका थिए ।

‘चिकित्साबृत्त र विशेषगरी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा काउन्सिलको तथ्यांक दुरुपयोग भयो भन्ने आवाज उठिसकेपछि त्यसबारे छलफल गर्न हामीले बैठक बोलाएका हौँ । आइतबारको बैठक काउन्सिलको तथ्यांक प्रयोग बारे भनेर एकल एजेण्डा तय गरिएको छ । त्यसबीचमा हामीले आवश्यक छानवीन समेत शुरु गरिसकेका छौँ,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

उनले एसएमएस पठाउने निजी कम्पनी इसेवालाई नम्बरको स्रोत के हो ? कहाँ र कोबाट नम्बर पायौँ भनेर सोधिएको समेत जानकारी दिए ।
डा अधिकारीले ३७८८८ काउन्सिलले अहिले प्रयोग गर्ने नम्बर भने नभएको बताए ।

यता डा खत्रीले आफूले काउन्सिलको तथ्यांक दुरुपयोग नगरेको भन्दे साथीभाइसंग मागेर आफैसंग सेभ भएका नम्बरहरुबाट नै एसएमएसमा गएको दावी गरे ।

‘यो नितान्त चुनावी प्रपोगाण्डा हो । मेरा मतदाताहरुलाई प्रभावित गर्न र मेरो चुनावी अभियानलाई असफल तुल्याउनका लागि यस प्रकारका दुष्प्रचारहरु गरिएको हुन्,’ उनले विज्ञप्ती जारी गर्दै भनेका छन् ।

प्रेस विज्ञप्ति
म कालुसिंह खत्री विगत लामो समयदेखि स्वास्थ्य क्षेत्रका विभिन्न आन्दोलन तथा अभियानमा सक्रियतापूर्वक संलग्न रहँदैं आएको छु । पछिल्लो चार वर्ष नेपाल मेडिकल काउन्सिलमा रहेको हुँदा सो क्रममा चिकित्सक साथीभाइ, अग्रजहलाई सर—सहयोग गर्ने र कामको शिलशिलामा विभिन्न चिकित्सकहरुको सम्पर्क सुत्र प्राप्त गर्ने नै भए । त्यसबाहेक चिकित्सक पछिल्ला सबै चुनावी प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुँदै गर्दा फोन नम्बर प्राप्त गर्ने अवसर प्राप्त भएको हो ।
मसँग चिकित्सकहरुका १५ हजार बढी निजी सम्पर्क नम्बरहरु रहेको अवस्था छ । र, सोही सम्पर्क नम्बरमार्फत मैले निजी एसएमएस सर्विस कम्पनीमार्फत नेपाल मेडिकल काउन्सिलको चुनावी प्रचार—प्रसार गरेको हो । यस्ता एमएमएस कम्पनीमार्फत चिकित्सकहरुमाझ प्रचार—प्रसार गर्ने म एकमात्र उम्मेदवार होइन्, अन्य उम्मेदवारहरुले पनि गर्दै आएका छन् ।
एमएमएसमार्फत चिकित्सकहरुले प्रचार—प्रसार गर्ने यो शैली विगतका विभिन्न चिकित्सकका चुनावी अभियानहरुमा पनि हुँदै आएको छ । यो अवस्थामा मतदान सुरु भएकै बेला नेपाल मेडिकल काउन्सिलकै डाटाहरु लगेर चुनावी प्रचार गरेभन्दैं कपोल्कल्पित र प्रायोजित प्रचारहरु सुरु गरिएका छन् । मेरो चुनावी परिणामलाई प्रभावित गर्न अफवाहपूर्ण होहल्ला गरिएपछि म यो स्पष्टीकरण दिन बाध्य भएको हुँ । यस विषयमा काउन्सिलले छानविन पनि अगाडि बढाइसकेको छ । तर, बुझ्न के जरुरी छ भने मेडिकल काउन्सिलमा रहेका चिकित्सकहरुको प्राइभेट नम्बर मैले प्रयोग गरेको छैन ।
अर्को कुरा मैले प्रयोग गरेको एमएमएस पोर्टल इसेवाको सस्तो एसएमएस पोर्टल हो । काउन्सिलको एसएमएस पोर्टल मैले प्रयोग गरेको छैन् । मैले प्रयोग गरेको ३७८८८ सबैभन्दा सस्तो एसएमएस सेवा भएकाले मैले सोही एमएमएस सेवामार्फत प्रयोग गरेको हुँ ।
तर, मेरो चुनावी उम्मेदवारीलाई लिएर विभिन्न प्रोपोगाण्डा र अफवाहहरु सिर्जना गरी काउन्सिलले छानविन गरिरहेको अवस्थामा मेरो उम्मेदवारी नै खारेज भयो भन्ने कुप्रचारपूर्ण समाचार सम्प्रेषण गर्नु विशुद्ध चुनावी प्रपोगाण्डा मात्रै रहेको स्पष्ट गर्न चाहन्छु । मेरा मतदाताहरुलाई प्रभावित गर्न र मेरो चुनावी अभियानलाई असफल तुल्याउनका लागि यस प्रकारका दुष्प्रचारहरु गरिएको हुन् । यसबाट विचलित नभएर मलाई मतदान गर्नुहुन आम मतदाता साथीहरु र अग्रजहरुलाई हार्दिक अपिल गर्न चाहन्छु ।
डा. कालुसिंह खत्री
नेपाल मेडिकल काउन्सिल सदस्यका उम्मेदवार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *