कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्षलाई

काठमाडौँ, २५ कात्तिक । सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष रहेका डा निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको छ । स्वास्थ्य मन्त्री विरोध खतिवडाले विहीबार मन्त्रीस्तरीय निर्णय गर्दै डा थापालाई सो जिम्मेवारी दिएका हुन् ।

उनलाई दिइएको पत्रमा अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी निमित्त उपकुलपतिको काम काज गर्न तोकिएको छ ।

स्वास्थ्य मन्त्री खतिवडाले गत मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रतिष्ठानका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई काम काज गर्न रोक लगाएका थिए । अघिल्लो सरकारका पालामा नियुक्त भएका डा रावल र महतलाई त्यसबेला कानूनविपरित नियुक्त भएको भन्दै काम काज गर्न रोक लगाइएको हो ।

तर, डाक्टर रावल र महतले भने आफूहरु कानून र प्रतिष्ठानको ऐन अनुसार नै नियुक्त भएको बताउँदै आएका छन् । उनीहरुले स्वास्थ्य मन्त्री खतिवडाको पछिल्लो कार्य नै ऐन विपरित भएको बताएका छन् ।

‘मलाई कुलपतिले नियुक्त गरेको हो । हटाउने पर्ने अवस्था आएमा विधि प्रक्रिया छ । ऐनमै उल्लेख छ । तर अस्पतालको मेसु फेरेजस्तै गरी प्रतिष्ठानको उपकुलपतिलाई काम गर्न रोक लगाउने, अर्को व्यक्तिलाई आर्थिक अधिकार सहित नियुक्त गर्ने आदी काम गर्न ऐनमा पनि उल्लेख छैन र स्वास्थ्य मन्त्रीले पनि मिल्दैन ।’

डा रावलको टीमले पछिल्लो समय प्रतिष्ठानलाई गतिशिल ढंगले अघि बढाएको थियो । मंसिर देखि त्यहाँ एमबीबीएस , बीएनएस, बीफार्मा लगायतका कार्यक्रम हुने तयारी थियो ।

डा रावलको टीमलाई काम काज गर्न रोक लगाएकोमा प्रतिष्ठानका १६८ जना बढी कर्मचारीले विरोध जनाएका छन् । मंगलबार पत्रमार्फत प्रधानमन्त्री शेरबहादुर देउवा र स्वास्थ्य मन्त्री खतिवडाको ध्यानाकर्षण गराएका उनीहरुले आज प्रमुख जिल्ला अधिकारीमार्फत पत्र पठाएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *