कान्तिपुर डेन्टल कलेजको प्राविधिक सहयोगमा गल्याङ नगर अस्पतालमा दन्त विभाग सञ्चालन

काठमाडौँ, ५ कात्तिक । बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल तथा रिसर्च सेन्टर (केडीसी) को प्राविधिक सहयोगमा स्याङ्जाको गल्याङ्ग नगर अस्पतालमा दन्त विभागको स्थापना गरिएको छ ।

उक्त विभागका स्थापना गर्नका लागि रोटरी क्लब अफ काठमाडौं नर्थ, रोटरी इन्टरनेशनल काठमाडौं ३२९२ र न्यू ताइपे ताइवानको रोटरी क्लब अफ उकु जिङ्जोङ र रोटरी इन्टरनेशनलको सहयोग रहेको छ । केडीसीका अध्यक्ष डा बुद्धिमान श्रेष्ठका अनुसार विभाग स्थापना गर्न २० लाख रुपैयाँ बढी खर्च भएको छ । सो विभागमा अवको दुई बर्षसम्म केडीसीले जनशक्तिको व्यवस्थापन गर्ने छ ।

त्यस्तै गल्याङ्ग नगर अस्पतालले दन्त विभाग राख्नका लागि स्थानको उपलब्धता गराएको छ भने, सेवाका लागि चाहिने आवश्यक उपकरणको व्यवस्थापन रोटरी इन्टरनेशनलले गरेको छ ।

सेवा शुक्रबार देखिनै सुरु भएको छ । दुई वर्ष पछि अस्पताललाई हस्तान्तरण गर्ने सहमती भएको डा श्रेष्ठले बताए । उनका अनुसार अत्यन्त न्यून शुल्क लिएर सेवा प्रवाह गरिने छ । उक्त विभागको स्थापना सँगै गल्याङ्ग नगरपालिका, कालिगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका, पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका जनताले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सेवा पाउनेछन् ।

उक्त कार्यक्रममा गल्याङ्ग नगरपालिकाका मेयर भुपराज अधिकारीले मुख स्वास्थ्यको अभियानलाई राष्ट्रव्यापी बनाउनु पर्ने बताए ।

उता ताइवानका रोटरी क्लब अफ उकु जिङ्जोङका अध्यक्ष रोटरीयन पावरले दन्त विभाग स्थापना गरी आम नागरिकलाई सस्तो र गुणस्तरीय सेवा प्रवाह गरेको प्रति आभार व्यक्त गरे ।

नगर अस्पताल व्यवस्थापन समितिका सदस्य प्रेम श्रेष्ठले दन्त विभाग सञ्चालनमा आएपछि अस्पतालले थप सेवा उपलव्ध गराउन सफल भएको भन्दै सहयोगी दाताप्रति खुशी व्यक्त गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *