तीन साता पछि अवकाश हुँन लागेका डा. आरपी बिच्छाको तीन बर्ष म्याद थप्ने तयारी

डा. आरपी बिच्छा

काठमाडौँ, १८ असोज । उमेर हदका कारण तीन साता पछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको तीन बर्ष म्याद थप्ने तयारी भएको छ ।

स्वास्थ्य सेवा ऐन २०५३ को दफा ४५ को उपदफा (२) लाई टेकेर म्याद थप गर्न लागिएको हो ।

सो उपदफामा ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएपनि नेपाल सरकारलाई विशेषज्ञ सेवा अत्यावश्यक भएमा ६० बर्ष पुरा भई अत्यावश्यक हुने कर्मचारीलाई बढीमा तीन बर्षको अवधी थप्न सक्नेछ,’ भन्ने उल्लेख छ ।

अनिवार्य अवकाश सम्वन्धी दफा ४५ को उपदफा १ मा ‘६० बर्ष उमेर पुरा भएको वा दफा १९ बमोजिमको पदावधी पुरा भएको कर्मचारीले स्वत अवकाश पाउने छ,’ भन्ने उल्लेख छ ।

डा. विच्छा आगामी ६ कात्तिक उमेर हदका कारण अवकाश हुँदै थिए ।

मन्त्रालय उच्च स्रोतका अनुसार डा बिच्छाले स्वास्थ्य सेवामा आफ्नो विज्ञता आवश्यकता भएकोले म्याद थप गरि पाउँ भन्दै निवेदन दिएका थिए ।

उनको निवेदनलाई आधार बनाई मन्त्रालयले तीन बर्ष म्याद थप गर्नका लागि प्रस्ताव उठाएर मन्त्रिपरिषदमा पठाईसकेको छ । स्वास्थ्य सचिव डा रोशन पोखरेल डा विच्छा म्याद थप सम्बन्धी फाइल मन्त्रालयबाट अघि बढेको पुष्टि गरे ।

आजै बस्ने मन्त्रिपरिषदको बैठकमा सो प्रस्ताव पेश हुने सम्भावना बढेको बताइएको छ ।

कसरी अघि बढ्यो म्याद थप्ने प्रक्रिया ?

स्वास्थ्य मन्त्रालयमा आएर राज्यमन्त्री उमेश श्रेष्ठ नेतृत्व लिए पनि अधिकाशंक निर्णयका लागि दवाव र प्रभाव बालुवाटारबाट हुने गरेको बताईदै आएको छ ।

एक अर्थले त्यो स्वभाविक पनि मान्न सकिएला , किन भने  स्वास्थ्य मन्त्रीको जिम्मा अहिलेसम्म प्रधानमन्त्री शेरबहादुर देउवा आफैले लिएका छन् । त्यो अवस्थामा प्रधानमन्त्रीपत्नी आरजु राणा स्वास्थ्यमा हावी नहुने कुरै भएन ।  राणासंग गहिरो दोस्ती बनाएका डा बिच्छालाई अहिले त्यहि चिट्टा परेको हो ।

आरजुकै बलमा कोभिड -१९ को महामारीमा र विशेष गरी खोप खरीदमा उत्कृष्ठ काम गरेका १२ औँ तहका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई सजिलै साइड लगाएर निमित्त महानिर्देशक बन्न सफल भएका बालरोग विशेषज्ञ डा विच्छा म्याद थप गर्ने र कानूनमै उल्लेख भएको कुरामा सहजै सफल हुने अनुमान गरिएको छ । ‘सम्भवत आज बस्ने मन्त्रीपरिषद बैठकमै म्याद थप्ने विषयको निर्णय हुनसक्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।

‘उनको विज्ञता अत्यावश्यक भएको खण्डमा मात्रै म्याद थप गर्नु पर्ने हो । उनी त एक बालरोग विशेषज्ञ मात्रै न हुन् । अहिले उनी जस्ता थुप्रा विज्ञहरु सरकारी सेवामा छन् । अहिले उनको विशेष आवश्यकता थिएन र छैन् । फेरी उनले कहि पनि उत्कृष्ठ फरफरमेन्स दिन सकेका होइनन् । बरु विवादमा बढी तानिएका थिए । त्यसैले उनको म्याद थप्नु सहि कदम होइन,’ एक जना पूर्वस्वास्थ्य सचिवले भने, ‘तर बालुवाटार नै लागेको छ भने हामीले विरोध गरेर के नै पो हुन्छ र उनले लाचारी प्रकट गरे ।’

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *