चिकित्सा शिक्षा आयोगद्धारा एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौँ, १८ असोज । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८ को एकीकृत प्रवेश परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले डीएम एमसीएच असोज महिना, स्नातकोत्तर तह कात्तिक महिना र स्नातक तहको प्रवेश परीक्षा मंसिर महिनामा लिने बताएको छ ।

आयोगले डीएम एमसीएच र स्नातकोत्तर तहको प्रवेश परीक्षा अघिल्लो बर्ष पुसमा लिएको थियो । तर स्नातक तहको भने लिन सकेको थिएन । त्यसबेला परीक्षा लिने बेलामा कोभिड महामारी फैलिएपछि रोकिएको हो । परीक्षा नै नभएपछि विद्यार्थीहरुको एक शैक्षिक शत्र नै गुमेको थियो ।

यसपटक भने चार महिनाको अन्तरमा स्नातक तहको प्रवेश परीक्षा लिने सुर गरेको छ । किनभने गत ९ देखि १३ साउनमा लिइएको प्रवेश परीक्षाको भर्ना प्रक्रिया अहिले पनि जारी नै छ । अब मंसिरमा अर्को परीक्षा गर्दा अन्तर चार महिनाको रहनेछ ।

आयोगका प्रवक्ता डिल्लीराम लुर्ईटेलले स्नातकोत्तर तथा डीएम एमसीएचको प्रवेश परीक्षा नियमित भएको बताए । तर स्नातक तहको प्रवेश परीक्षा केही छिटो गर्न खोजेको जानकारी दिए । ‘स्नातक तहको भर्ना गतवर्ष लिन सकिएन । त्यसैले अर्लि इन्ट्रान्स लिन खोजेका हौं । अब प्लस टू को नतिजा आउनासाथ इन्ट्रान्स लिने योजना बनाएका छौँ’ उनले भने ।

त्यसो त आयोगले गत ७ देखी १३ साउनमा सञ्चालन गरेको स्नातक तहको प्रवेश परीक्षामा नर्सिङ तथा प्यारामेडिक्स विषय तर्फ विद्यार्थीहरु कम उत्तीर्ण गराएको भन्दै निजी कलेजहरु आन्दोलित भएका छन् । उनीहरुले नियतबस विद्यार्थी कम पास गराएको भन्दै तालाचावी आयोग समक्ष बुझाएका छन् । कलेजहरुले कम्तीमा आफूहरुलाई दिइएको कोटा अनुसार विद्यार्थी उत्तीर्ण गराउनुपर्ने भन्दै आएका छन् ।

प्रवक्ता लुईटेलले आन्दोलनरत पक्षको मागलाई सम्वोधन गर्ने नीति अनुरुप पनि स्नातक तहको परीक्षा छिटो लिन खोजिएको बताए । ‘बरु फ्याकेल्टी दुई सेसनमा चलाएर भएपनि यसपटक पहिलेको क्षतिपूर्ति होस भन्ने हिसावले पनि हामीले छिटो भर्ना प्रक्रिया सुरु गर्न लागेका हौं,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *