यी हुन् स्वास्थ्यको बाह्रौँ तहको बढुवामा सिफारिस हुने सम्भावित पाँच जना

काठमाडौँ, १० असोज । स्वास्थ्य मन्त्रालयको बढुवा समितिले १२ औँ तहमा बढुवा हुने योग्यता पुगेका सबैसंग व्यक्तिगत विवरण मागे पनि अन्तिम सिफारिसमा पाँच जनाको मात्रै नाम पठाउने भएको छ ।

समितिले आइतबार प्रकाशित सूचनामा उल्लेख गरेको नेपाल स्वास्थ्य सेवा ऐन २०५३ को दफा २५ (२) बमोजिम कार्यसम्पादन क्षमताको आधारमा बढुवा गर्ने भनिएको छ ।

ऐनको यो दफा अनुसार रिक्त तीन पदका लागि पाँच जना भन्दा धेरै जनाको नाम सिफारिस गर्न मिल्दैन । किनभने ऐनको दफा २५ (२) मा स्पष्टसंग भनिएको छ कि ‘यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि बाह्रौँ तहको पदमा बढुवा गर्न बढुवा समितिले उपलव्ध भएसम्म रिक्त पदको कम्तीमा पचास प्रतिशत थप उम्मेद्धारलाई कार्य सम्पादन क्षमताको आधारमा सिफारिस गर्नेछ र त्यसरी सिफारिस गरिएका उम्मेद्धारहरुमध्येबाट नेपाल सरकारले जेष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठहरयाएको उम्मेद्धारलाई बढुवा गर्नेछ ।’

यो अनुसार तीनवटा रिक्त पदका लागि ५० प्रतिशत बढाउँदा साढे ४ हुने भएकोले बढुवा समितिले ५ जना मात्रै सिफारिस गर्नु पर्नेछ ।

बढुवा समितिमा को को रहन्छन् ?
स्वास्थ्य सेवा ऐनको दफा २५ अनुसार १२ औँ तहको बढुवा गर्नका लागि पाँच जनाको समिति हुनेछ । त्यसको अध्यक्षता लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोक सेवा आयोगको सदस्यले गर्नेछ । अरु सदस्यहरुमा लोक सेवा आयोगको अध्यक्षले तोकेको लोक सेवा आयोगको सदस्य, मुख्य सचिव, लोक सेवा आयोगद्धारा मनोनीत सम्वन्धित विषयको विशेषज्ञ सदस्य रहन्छन् । स्वास्थ्य मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

बढुवाको सिफारिसमा पर्ने सम्भावित पाँच जना को को हुन् ?
मन्त्रालय स्रोतका अनुसार जेष्ठताको आधारमा अहिले व्यवस्थापन महाशाखामा रहेका डा भीमसिंह तिंकरी अग्रस्थानमा छन् ।

दोस्रो स्थानमा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा गुणराज लोहनी रहेका छन् ।

तेस्रो स्थानमा अहिले सार्क क्षयरोग केन्द्रका निर्देशक रहेका डा तारानाथ पोखरेल रहेका छन् ।

चौथो स्थानमा डा. तारानाथ पौडेल छन् । तर उनको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको रिटको छिनोफानो भईसकेको छैन् ।

पाँचौ स्थानमा हाल राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा रहेका छन् ।

चौथो स्थानमा रहेका डा. पौडेलको टुंगो नलागेको अवस्थामा छैटौं स्थानमा रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले सिफारिसमा पर्ने अवसर पाउन सक्नेछन् ।

यद्धपी बढुवाका लागि ऐनले नै जेष्ठतासंगै कार्यकुशलताको आधार समेत हेर्न भनेकोले यी बाहेक अरु नाम नपर्ला भन्न पनि सकिदैन ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *