नेपाललाई खोप पठाउन भारतीय विदेश मन्त्रालयको सेरम इन्स्टिच्युटलाई निर्देशन

फाइल फोटो

काठमाडौँ, ३ भदौ । भारतमा खरीद गरेर रोकिएको १० लाख डोज कोभिडविरुद्धको खोप कोभिसिल्ड छिटै आईपुग्ने भएको छ । भारतीय विदेश मन्त्रालयले खोप निर्माता कम्पनी सेरम इन्स्टिच्युटलाई गत विहीबार पत्र लेख्दै नेपाललाई पठाउन बाँकी १ मिलियन (१० लाख) डोज खोप पठाउने प्रक्रिया अघि बढाउनु भन्ने निर्देशन दिएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यसको जानकारी नेपाल सरकारलाई समेत पठाईसकेको छ ।

‘हामीले खरीद गरी आउन बाँकी भएको १० लाख डोज कोभिसिल्ड खोप अब छिटै आउने छ । भारतीय विदेश मन्त्रालयले सिरम इन्स्टिच्युटलाई रोकिएको खोप पठाउनु भन्दै निर्देशन दिइसकेको जानकारी आएको छ,’ प्रधानमन्त्री कार्यालयका सचिव लक्ष्मण अर्यालले भने । उनले खोप ल्याउने प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालय र विभागको ध्यानाकर्षण गराईसकेको समेत उल्लेख गरे ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले भने यसबारेमा प्रतिक्रिया दिन चाहेनन् ।

भारत सरकारको अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गरिसकेपछि सरकारले गत १४ माघ देखि खोप अभियान शुरु गरेको थियो ।

गत ५ फागुनमा भारत सरकारकै समन्वयमा नेपालले सेरमसंग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरि थप २० लाख डोज कोभिसिल्ड खरीद गर्ने सम्झौँता गरेको थियो । सो सम्झौँता अनुसार १० लाख डोज त्यतिवेला नै आएको थियो । तर थप १० लाख डोज भने रोकिएको थियो ।

त्यसबेला भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढदै गयो र त्यहाँको उच्च अदालतले आफ्ना नागरिकलाई खोप लगाउने सुनिश्चित गरेपछि मात्रै अन्य देशमा निर्यात गर्नु भनेर सरकारको नाममा आदेश दियो । अदालतको आदेश पछि सरकारले खोप निर्यातमा प्रतिवन्ध लगाएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *