‘परिवार योजनामा १ रुपैयाँ लगानी गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल प्राप्त हुन्छ’
काठमाडौँ, २ असोज । “कोभिड – १९ को महामारीः परिवार योजना सेवामा सबैको पहुँच बराबरी” भन्ने नाराका साथ आज देशभर आठौँ राष्ट्रिय परिवार नियोजन दिवस मनाइएको छ । कोभिड – १९को महामारीको यो परिस्थितिमा सर्बसाधारणसम्म परिवार योजना सेवाको पहुँच र गुणस्तरीय सेवाको सूनिश्चितता होस भन्ने उद्देश्यका लागि यो नारा तय गरिएको हो ।
कोभिड -१९ को महामारी र निषेधाज्ञाले सेवाको पहुंच घटाई अनिच्छित गर्भको संख्या धेरै बृद्दि हुनसक्छ भनि बिभिन्न अध्ययनले प्रक्षेपण गरेको हुँदा नेपालले पनि सो बिषयलाई गम्भिरताका साथ नविनतम कार्यक्रमहरु संचालन गरि परिवार योजना सेवाको सुनिश्चितताको लागि पहल गरिरहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले परिवार योजना सेवाको बढ्दो माग र आवश्यकतालाई मनन् गर्दै नेपाल सरकारले परिवार योजना सेवालाई आकस्मिक सेवा अन्तर्गत सम्पूर्ण स्वास्थ्य संस्थाहरुबाट निस्शूल्क, प्रभावकारी र निरन्तर सेवा सञ्चालन गर्दै आएको बताए ।
उनले अनिच्छित गर्भधारणलाई रोकी विवाहित वा अविवाहित व्यक्ति वा दम्पत्तिले बच्चा पाउने कि नपाउने ? पहिलो बच्चा कहिले पाउने ? कतिवटा बच्चा पाउने ? एउटा बच्चा र अर्को बच्चाको अन्तर कति गर्ने ? भन्ने निर्णय आफ्नो आवश्यकता र इच्छा अनुसार गर्न पाउनु पर्दछ भन्ने मान्यता राख्दै सरकारले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र कोभिड -१९ विश्व महामारी को समयमा प्रजनन्, मातृ, नवजात शिशु, तथा बाल स्वास्थ्यको लागि अन्तरिम मार्गनिर्देशन २०७७ ले निर्देश गरे अनुसार परिवार योजना सेवा सबै वर्गले विभेद रहित र ब्यक्तिगत गोपनियता कायम गर्दै नजिकका स्वास्थ्य संस्थामा तालिमप्राप्त स्वास्थ्यकर्मीबाट गुणस्तरिय र निशुल्क परिवार योजना सेवा सहज उपभोगको सुनिश्चितता गरेको जानकारी दिए ।
उनले गुणस्तरीय परिवार योजना सेवाको पहुँचले आमा र बच्चाको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा विकास क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने बताए ।
त्यसो त परिवार योजनामा एक रुपैयाँ लगानी गर्दा स्वास्थ्य तथा शिक्षाका क्षेत्रमा ३.१ रुपैयाँ प्रतिफल हुने नेपाल सरकारको परिवार नियोजन लागत कार्यान्वयन योजना ले प्रक्षेपण गरेको छ ।
परिवार योजना कार्यक्रमको गुणस्तरीय र प्रभावकारी कार्यान्वयनले १० प्रतिशत बाल मृत्युदर र ३० प्रतिशत मातृ मृत्युदर घटेको बिभिन्न तथ्यहरूले देखाएको छ । यसैले नेपाल सरकारका सबै तहका स्वास्थ्य सेवा केन्द्रहरू तथा गैर-सरकारी संस्थाद्वारा संचालित क्लिनिक र औषधि पसलहरुबाट गर्भ निरोधका स्थायीरअस्थाई साधनहरु र सेवा उपलब्ध गराउँदै आएको छ ।
परिवार योजना सेवालाई कुनै व्यक्ति वा दम्पत्तिले ठीक समयमा अपनाउन सकेमा यसबाट आमा, नवशिशु र बाल स्वास्थ्यमा सुधार ल्याउन, आर्थिक सुधार गर्न, शिक्षा र रोजगारीको अवसर प्राप्त गर्न, एचआइभी। संक्रमण रोकथाम गर्न, लैङ्गिक समानता ल्याउन र स्वस्थ्य वातावरणको लागि एउटा महत्वपूर्ण उपाय हो ।
गुणस्तरीय परिवार योजना सेवाको पहुँचले व्यक्तिको स्वास्थ्यमा मात्र नभई सामाजिक तथा जीविकाका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्दछ । असुरक्षित यौन सम्पर्कका कारण अनिच्छित गर्भ रहने सम्भावना धेरै हुन्छ, यस्तो अवस्थामा असुरक्षित गर्भपतन र असुरक्षित सुत्केरी हुने सम्भावना बढ्छ र यसबाट मातृ तथा शिशुको रुग्णता र मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । यसले सामाजिक तथा आर्थिक पक्षका समेत प्रत्यक्ष र दुरगामी प्रभाव पार्ने बताइएको छ ।
नेपालमा परिवार नियोजन कार्यक्रमको सुरूवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघको स्थापनासंगै संस्थागत रूपमा भएको थियो । यस दिवसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २०७१ देखि राष्ट्रिय रुपमा मनाउदै आएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

