चीनमा एमबीबीएस गरेका १६५ जना विद्याथीलाई नेपालमै इन्टर्नशीप गर्ने व्यवस्था मिलाउँदै काउन्सिल

काठमाडौँ, ३१ भदौ । चीनमा एमबीबीएस अध्ययन गरेका तर इन्टर्नशीप गर्न नपाएका विद्यार्थीले अब नेपालमै इन्टर्नशीप गर्न पाउने भएका छन् । नेपाल मेडिकल काउन्सिलले चिकित्सा शिक्षा आयोगले मागेको आवेदनमा इन्टर्नशीप गर्न नपाएका सन् २०१४ व्याचका विद्यार्थीलाई नेपालमै इन्टर्नशीप गर्ने व्यवस्था मिलाउन लागेको हो ।

सन् २०१९ को डिसेम्वर अन्तिममा चीनमा कोरोना भाइरस फैलिएपछि त्यहाँ अध्ययन गरेका विद्यार्थीहरु स्वदेश फर्किएका थिए । भाइरसले महामारी रुप लिएपछि उनीहरु चीन पुगेर अध्ययन पुरा गर्न पाएका थिएनन् । त्यसरी स्वदेश फर्किनेमा कतिपयले अध्ययन पुरा गरेका तर इन्टर्नशीप पुरा गर्न नपाएका कारण उनीहरुको पढाई रोकिएको थियो । उनीहरुले विशेष कारण भन्दै स्वदेशमै इन्टर्नशीप गर्न पाउनुपर्ने माग राख्दै आएका थिए ।

‘इन्टर्नशीपको प्रक्रिया अब अन्तिम चरणमा पुग्यो । आवेदन दिएका १६५ जना विद्यार्थीलाई सक्कल कागजात सहित उपस्थित हुन भनेका छौँ,’ काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले भने ।

उनले आगामी ४, ५ र ६ असोजमा पालो मिलाएर उपस्थित हुन खबर गरिएको जानकारी दिए ।

डा अधिकारीले अहिले एमबीबीएसको मात्रै र सन् २०१४ का व्याचका विद्यार्थीहरुका लागि मात्रै यो अवसर प्रदान गरिएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *