भारतमा दैनिक संक्रमितको संख्या १६० दिनपछिकै कम

नयाँदिल्ली, ७ भदौ । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ ।सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो । दैनिक सङ्क्रमितहरुको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन् ।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ८० हजार ६२६ पुगेको छ ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन् । यो सङ्ख्या १५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल चार लाख ३४ हजार ७५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो २४ घण्टामा ३८९ जनाको मृत्यु भएको हो । कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ । पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ । योसँगै अहिलेसम्म कूल ५० करोड ७५ लाख ५१ हजार ३९९ जनाको परीक्षण भएको छ ।

त्यसैगरी भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ ।

एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *