५८ बर्ष अघिको कानून कार्यान्वयन गर्दै मेडिकल काउन्सिल

काठमाडौँ, ३ भदौ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरुको अभिलेख अध्यावधिक गर्ने कार्यलाई तिब्रता दिएको छ । काउन्सिलले अध्यावधिक नगर्ने चिकित्सकहरुलाई प्रक्रिया पुर्याएर दर्ता कितावबाट नाम हटाइने स्पष्ट पारेको छ ।

काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताव दुरुस्त राखी समय समयमा दर्ता भएका चिकित्सकको नाम ठेगाना योग्यता खोली नेपाल मेडिकल काउन्सिल ऐन २०२० को दफा १३ मा भएको व्यवस्था बमोजिम दर्ता किताव दुरुस्त राख्ने कार्यलाई अघि बढाएको स्पष्ट पारेको छ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले ५८ बर्ष अघि बनेको कानूनलाई कार्यान्वयन गर्न लागिएको बताए । उनले ऐनमा भएको व्यवस्था बमोजिम दर्ता किताव दुरुस्त खोजिएको बताए ।

‘ऐनले दर्ता किताव दुरुस्त राख्नका लागि समय समयमा दर्ता भएका चिकित्सकहरुको नाम ठेगाना र योग्यता खोली दर्ता कितावमा दर्ता गर्ने, दिवंगत वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरुको नाम हटाइने व्यवस्था छ ।  कुनै दर्तावाला चिकित्सकले आफ्नो व्यवसाय छाडेमा वा आफ्नो ठेगाना बदलेमा रजिष्ट्रारलाई एक महिना भित्र सूचना गर्नुपर्ने व्यवस्था छ । त्यसलाई कार्यान्वयनमा ल्याउन खोजिएको हो,’ उनले भने ।

काउन्सिलले सुरु दर्ता देखि दर्ता नं २४ हजार २२९ भएकासम्मलाई अनलाइनबाट विवरण अध्यावधिक गर्न भनेको छ । काउन्सिलको सूचना अनुसार अहिलेसम्म ११ हजार ४२७ जनाले विवरण अध्यावधिक गरिसकेको जानकारी दिएको छ ।

काउन्सिलमा अहिलेसम्म २९ हजार ३०० बढी दर्ता भइसकेका छन् । २४ हजार २२९ देखि २९ हजार ३०० सम्मको करीव साढे पाँच हजार बढी भने सुरुमै दर्ता भइसकेका छन् ।

रजिष्ट्रार डा अधिकारीले चिकित्सकहरुलाई विवरण अध्यावधिक गर्न एक महिनाको अवधी दिईएको र त्यो सकिई सकेको भन्दै अब अपडेट नगर्नेलाई पत्र काट्ने बताए ।

‘अब पठाउने पत्रको रेस्पोन्स तीन महिनासम्म नआएको खण्डमा वा चिठी फर्केर आएको खण्डमा उनीहरुको नाम पत्रिकामा सार्वजनिक गरिने र अर्को तीन महिना पनि सम्पर्कमा नआए नाम दर्ता कितावबाट हटाउने व्यवस्था ऐनमै रहेको छ । त्यहि अनुसार काउन्सिलले प्रक्रिया अघि बढाउँछ,’ उनले भने ।

उनले यो ऐनको कार्यान्वयन हुँदा नेपालमा कति चिकित्सक छन्, कुन कुन विषयका छन्, कति सरकारीसेवामा, कति निजी क्षेत्रमा, कति स्वदेश कति विदेश आदि सबै विवरण आउने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *