खरीद र अनुदानको गरी अगस्ट महिना भित्र चीनबाट ७६ लाख डोज भेरोसेल खोप आउदै

काठमाडौँ, २७ साउन । खरीद र अनुदानको गरी अगष्ट महिना भित्र चीनबाट ७६ लाख डोज कोभिडविरुद्धको खोप भेरोसेल आईपुग्ने भएको छ । ६० लाख डोज खोप खरीदका लागि चिनियाँ कम्पनी सिनोफार्मसंग ‘नन् डिस्क्लोजेवल एग्रीमेन्ट (एनडीए)’ गरेको सरकारले यसै साता पैसा पठाएको थियो । अरु १६ लाख डोज खोप भने चीन सरकारले अनुदानमा दिन लागेको हो ।

एनडीए गरेको ६० लाख डोजमध्ये ८ लाख २ भदौमा र अर्को ८ लाख डोज ४ भदौमा आईपुग्छ । बाँकी ४४ लाख डोज अगष्ट महिना भित्रै पठाउने कम्पनीले प्रतिवद्धता जनाएको छ । यस्तै अनुदानमा दिने भनिएको १६ लाख डोज खोप पनि मध्य अगष्टसम्म आईपुग्ने चिनिया पक्षले जानकारी गराएको छ ।

‘यो अगष्ट महिना भित्रै अनुदान र खरीदको गरी ७६ लाख डोज खोप आउँदै छ । सो खोप आईपुग्दा हामीले उमेर समूह कम गर्दै खोप लगाउने कार्यलाई तिब्रता दिनेछौँ,’ मन्त्रालय स्रोतले भन्यो ।

यसअघि चीनबाट १८ लाख डोज भेरोसेल अनुदानमा आएको थियो । यस्तै सिनोफार्मसंग खरीद सम्झौँता गरिएको ४० लाख डोज खोप पनि आईसकेको छ ।

गत २९ असारमा तत्कालिन प्रधानमन्त्री केपी ओली सत्ताबाट बाहिरिने क्रममा गरेको सम्वोधनमा चीनबाट थप ६० लाख डोज भेरोसेल खोप खरीदबाट आउन लागेको जानकारी गराएका थिए । उनले त्यसबेला अरु देश र कम्पनीका समेत गरी कुल डेढ करोड डोज खोप छिटै आउने दावी गरेका थिए ।

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार अहिले आउने भनिएको ६० लाख डोज खोप खरीदको प्रक्रिया अघिल्लो सरकारले गरेको भएपनि सम्झौँता र पैसा पठाउने काम नयाँ सरकार आइसकेपछि भएको हो । ‘नयाँ सरकारको स्वास्थ्य राज्यमन्त्री ज्यू आईसकेपछि सम्झौँतामा हस्ताक्षर भएको छ । पैसा पठाएको त तीन चार दिन मात्रै भयो होला,’ स्रोतले भन्यो ।

सरकारले आगामी असोज महिना भित्र एक तिहाई जनतालाई खोप लगाईसक्ने र चैतसम्ममा सबै जनतालाई खोप लगाउने योजना अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *