डा. जागेश्वर गौतम सहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय रोकियो
काठमाडौँ, १९ साउन । स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन पछि कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारीबाट डा जागेश्वर गौतम सहित अरु चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय स्थगित भएको छ ।
सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै युनिफाइड केन्द्रीय अस्पतालमा डा गौतमको ठाँउमा डा रुद्र मरासिनी, मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा विवेकुमार लाल, सार्क क्षयरोग केन्द्रमा डा रिता भण्डारी जोशीलाई जिम्मेवारी तोक्ने निर्णय गरेका थिए । डा गौतमलाई भने प्रसुति गृह अस्पतालमा पठाइएको थियो ।
सो निर्णय सञ्चारमाध्यममा सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयले हस्तक्षेप गर्दै निर्णय कार्यान्वयन नगर्न भनेको हो । ‘स्वास्थ्य मन्त्रीको जिम्मेवारी मैले सम्हालेको छु । राज्यमन्त्रीले यो निर्णय गर्न मिल्दैन । अहिले गरिएका निर्णयहरु कार्यान्वयन नगर्नुस । थप अध्ययन गर्नुपर्ने छ,’ प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लेख गर्दै स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो ।
यता डा गौतमले पनि सरुवा सम्वन्धी पत्र आफूले नपाएको भन्दै पूर्ववत रुपमा युनिफाइड केन्द्रीय अस्पताल पुगेर काम काज गर्ने बताए । ‘अहिले मन्त्रालय जानुछ । त्यसपछि त अस्पताल जाने हो । मेरो जिम्मेवारी हेरफेर भएको भन्ने मैले नि सञ्चारमाध्यमबाट सुनेको हुँ । पत्र त पाएको छैन् । त्यसैले म त पूर्ववत रुपमा नै काम गर्नु पर्ने हुन्छ,’ उनले भने ।
यसअघि प्रसूति गृह अस्पतालको निर्देशकमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका, मन्त्रालयको समन्वय महाशाखा हुँदै युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख कार्यकारी अधिकारी भईसकेका व्यक्तिलाई निर्देशक समेतको जिम्मेवारी नदिएर कारवाही गरे जसरी अवमूल्यन गरेको भन्दै कतिपय चिकित्सकले असन्तुष्टि समेत जनाएका थिए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




