काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा दिने कार्य यसै साता सुरु हुँदै, विद्युतीय दर्ता अनिवार्य

काठमाडौँ, १८ साउन । स्वास्थ्य कार्यालय काठमाडौँले झण्डै एक महिना अघि लगाएको भेरोसेल खोपको दोस्रो मात्रा यसै साता देखि सुरु गर्ने भएको छ । तर कार्यालयले दोस्रो मात्रा खोप लिनका लागि विद्युतीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिई आउनुपर्ने जनाएको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले दोस्रो मात्रा खोप अवको चार पाँच दिन भित्र सुरु गर्ने बताएका छन् । उनले खोप विवरणलाई व्यवस्थित गर्न सरकारले विद्युतीय दर्तालाई अनिवार्य गरेको भन्दै आफ्नो कार्यालयले अव खोप लिनका लागि अनिवार्य रुपमा विद्युतीय दर्ता गरेको बताए ।
यसैबीच आज काठमाडौ महानगरपालिकाका वडाहरुमा र बुढानिलकण्ठ नगरपालिकामा भेरोसेलको पहिलो मात्रा दिने कार्यक्रम स्थगित भएको छ । दुबै नगरमा खोप सकिएका कारण कार्यक्रम स्थगित गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
उता गोकर्णेश्वर नगरपालिकाका केही खोप केन्द्रमा हिजो विवाद भएका कारण आज खोप कार्यक्रम सञ्चालन नहुने जानकारी पाएको जिल्ला प्रमुख खड्काले बताए ।
अत्यावश्यक सेवाका व्यक्तिका लागि तोकिएको अस्पतालहरुमा भने खोप आज पनि जारी छ ।
यसअघि काठमाडौमा १४ साउन देखि सुरु भएको भेरोसेलको पहिलो डोज लगाउने कार्यक्रम आजसम्म तोकिएको थियो ।
सम्पर्क इमेल : [email protected]