क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड लागू गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ, १६ साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले क्यूआर कोडसहितको कोरोना खोप प्रमाणीकरण कार्ड लागू गर्न निर्देशन दिएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको शुक्रबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन निर्देशन दिएका हुन् ।

कतिपय मुलुकमा कागजी प्रमाणीकरणलाई मान्यता नदिएकाले क्यूआर कोडसहितको खोप प्रमाणीकरण कार्ड प्रयोगमा ल्याउन आवश्यक भएको सीसीएमसीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाको भनाई थियो ।

देउवाको निर्देशन पछि क्यू आर कोड केही दिनबाट प्रयोगमा ल्याइने सीसीएमसीले जनाएको छ ।

सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले केही दिनबाट नै खोप प्रमाणीकरण कार्डमा क्यूआर कोड प्रयोगमा ल्याइने जानकारी दिए । अहिले विदेश जाने श्रमिकले टेकुसहितका चार अस्पतालबाट कोरोनाको खोप प्रमाणीकरण कार्ड लिइरहेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले कोभिडको तेस्रो लहर आउनसक्ने आंकलन गरिएको र यसको सफलतापूर्वक व्यवस्थापन गरेर नागरिकको सुरक्षा गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए । उनले यो नियमित बैठक भएको र प्रधानमन्त्री देउवा आफैँ उपस्थित भएर कोरोना नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताए ।

एक प्रश्नमा मन्त्री कार्कीले तत्काल लकडाउनमा जाने विषयमा कुनै तयारी नरहेको समेत स्पष्ट पारे । उनले सरकारी कार्यालयबाट प्रदान गरिने सेवालाई सामाजिक दूरीसाथ व्यवस्थित गर्ने कार्य केही दिनपछि नै गरिने विश्वास व्यक्त गरे ।

पुनः स्मार्ट लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव
कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै जाँदा स्वास्थ्य मन्त्रालयले पुनः स्मार्ट लकडाउन गर्नुपर्ने प्रस्ताव अगाडि सारेको छ ।
शुक्रबारको बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा मन्त्रालयले यस्तो प्रस्ताव अगाडि सारेको हो ।

सहसचिव तथा सीसीएमसी प्रवक्ता नूरहरि खतिवडाले कोरोना सङ्क्रमण बढ्दै गएको परिस्थितिमा पुनः ‘स्मार्ट लकडाउन’मा जानुपर्ने प्रस्ताव आए पनि त्यस सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए ।

उनका अनुसार, मुलुकभर एकै खालको बन्दाबन्दी नगरी सङ्क्रमणका आधारमा क्षेत्र विभाजन गरी स्मार्ट बन्दाबन्दीमा जानुपर्ने सुझाव प्राप्त भएको छ ।

सोहीअनुसार जिल्ला संकट व्यवस्थापन केन्द्र ९डीसीसीएमसी० ले प्रभावित स्थानमा मात्र ‘स्मार्ट लकडाउन’ गर्न सक्ने भएका छन् । सो अवधारणाअनुसार एमसीसीको बैठकले टुङ्गो लगाइने प्रवक्ता खतिवडाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *