जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप नेपाल आइपुग्यो

काठमाडौँ, २८ असार । अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एण्ड जोन्सनले बनाएको कोभिडबिरुद्धको खोप नेपाल आइपुगेको छ । आज विहान कतार एयरलायन्सको विमानमार्फत विहान ९ : ४० बजे १५ लाख डोज खोप काठमाडौँ आईपुगेको हो ।

अमेरिकी सरकारले कोभ्याक्स सुविधा मार्फत पठाएको यो खोप एक डोज लगाए मात्रै पुग्छ ।

खोप आइसकेपछि केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठले कोभ्याक्स सुविधा मार्फत खोप उपलव्ध गराएकोमा अमेरिकी सरकार र जनताप्रति धन्यवाद दिए । उनले अमेरिकाले नेपाललाई यसअघि पनि भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको उल्लेख गरेका थिए । मन्त्री श्रेष्ठले आएको खोप जोखिम समूहलाई प्राथमिकतामा राखेर ५० देखि ५४ बर्ष उमेरसमूहकालाई दिने योजना बनाइएको बताए ।

राजदूत बेरीले अमेरिकी सरकार र त्यहाँका जनता कोभिडबिरुद्धको नेपालको लडाईमा पूर्ण साथमा रहेको बताएका थिए । उनले नेपालीका लागि खोप सहयोग गर्न पाउँदा खुशी लागेको समेत सुनाएका थिए ।

खोप हस्तान्तरण कार्यक्रममा स्वास्थ्य सचिव लक्ष्मण अर्याल, प्रमुख विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंह लगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *