दुई स्थानीय तहले छात्रवृत्तिमा एमबिबिएस पढाउने

खलंगा, १२ असार । जुम्लाका दुई पालिकाले छात्रवृत्तिमा एमबिबिएस पढाउने भएका छन्। यहाँको चन्दननाथ नगरपालिका र पातारासी गाउँपालिकाले एमबिबिएस पढ्ने एकरएक विद्यार्थीलाई आफ्नै खर्चमा एमबिबिएस पढाउने निर्णय गरेका हुन्।

पहिलो र दोस्रो कोभिड–१९ महामारीले निकै प्रभावित भएपछि चिकित्सकको अभाव कम यो कार्यक्रम ल्याइएको बताइएको छ ।

पातारासी गाउँपालिकाले एक जना विद्यार्थीलाई छात्रवृत्तिमा एमबिबिएस पढाउने भएको छ । गाउँपालिकाले सातौं गाउँसभामा एमबिबिएस छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि, जडीबुटी, पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने मूल नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । पातारासी गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा एमबिबिएस पढेका एक जना व्यक्ति पनि छैनन् ।

छात्रवृत्तिमा भएपनि एमबिबिएस पढाउनुपर्छ भन्ने पाठ कोभिड महामारीले नै सिकाएको प्रमुख प्रशासनिक अधिकृत टेकबहादुर बुढथापाले बताए । ‘गाउँपालिकाले एमबिबिएस पढ्ने एक जनाको सम्पूर्ण खर्च व्यवस्था गर्ने नीति ल्याएको छ । पातारासीमा अहिलेसम्म एमबिबिएस अध्ययन गरेको कोही नभएकाले प्रोत्साहन गर्नका लागि यस्तो नीति लिएका हौँ’, उनले भने ।

जिल्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिकाले पनि स्वास्थ्य र सामाजिक विकासलाई प्रथामिकता दिएर नीति तथा कार्यक्रम सार्वजानिक गरेको छ ।

हालै नेपाल सरकार चिकित्सा शिक्षा आयोगले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई २० सिट एमबिबिएस अध्ययन अध्यापनको अनुमति पाएसँगै जुम्लाका स्थानीय तहले नीति तथा कार्यक्रममा यो विषयलाई महत्व दिएका छन् ।

नगर प्रमुख कान्तिका सेजुवालका अनुसार एमबिबिएस पढ्ने विद्यार्थीलाई विशेष छात्रवृत्ति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटिएको छ । उनले भनिन्, ‘विपन्न, मेहनत जेहन्दार एकजना विद्यार्थीलाई छात्रवृति उपलब्ध गराउने नीति तथा कार्यक्रममा समेटेका छौँ।’ रासस

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *