काठमाडौँको महानगर बाहेकका १० नगरपालिकामा भेरोसेल खोप सञ्चालन

काठमाडौँ, २८जेठ । कोरोनाबिरुद्धको पहिलो डोज खोप लगाउने कार्यक्रम शुक्रबारबाट काठमाडौँ महानगरपालिका भित्र रोकिए पनि अरु १० वटा नगरपालिकामा भने सुचारु भएको स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । तर भोलि (शनिबार) भने अरु केही नगरपालिकाले पनि खोप लगाउन स्थगित गर्ने बताएको छ ।

‘बुढानिलकण्ठ नगरपालिकामा यो चरणको खोप आज अन्तिम हो । अरु केही नगरपालिकाबाट पनि अन्तिम हुनसक्ने संकेत मिलेको छ तर यकिन भैसकेको छैन्,’ स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले भने ।

सरकारले गत २५ गते देखि ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिका लागि कोभिडबिरुद्धको चिनियाँ खोप भेरोसेल लगाउने निर्णय गरेको थियो । सोही अनुसार स्वास्थ्य कार्यालय काठमाडौले पनि खोप अभियानको योजना बनाएको थियो । तर प्रयाप्त मात्रामा खोप नआएको भन्दै पूर्व निर्धारित कार्यक्रम सच्याइएको छ ।

‘काठमाडौँ महानगरले २९ जेठसम्मका लागि तालिका तोकेको थियो । २७ जेठ देखि नै बन्द ग¥यो । बुढानिलकण्ठले २८ जेठ देखि बन्द ग¥यो । अरु नगरपालिकाहरुले पनि खोप छैन भन्दैछन् । सायद भोलिबाट बन्द हुने हुन कि ?,’ स्वास्थ्य प्रमुख खड्काले भने ।

उनले विहीबार बेलुकासम्म कीर्तिपुरको पछिल्लो तथ्यांकबाहेकको विवरण लिदा ४५ हजार ८५९ जनाले भेरोसेल खोप लगाएको बताए । खड्काले १ लाख ६६ हजार डोज खोप माग गरे पनि करीब ६४ हजार मात्रै खोप आएको बताए । उनले लगाउन बाँकी १७ – १८ हजार खोप आज र भोलिमा सकिने आँकलन भएको उनले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *