एमालेका स्वास्थ्य विभाग प्रमुख खगराज अधिकारी बने गृहमन्त्री

गृहमन्त्रालयमा पदवहाली पछि कर्मचारीलाई निर्देशन दिने क्रममा नवनियुक्त मन्त्री अधिकारी

काठमाडौँ, २७ जेठ । नेकपा एमालेको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुख तथा स्वास्थ्य सम्वद्ध संगठनहरुको इन्चार्ज रहेका खगराज अधिकारी गृहमन्त्री बनेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रीमण्डल हेरफेर तथा विस्तार गर्ने क्रममा २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नं १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद अधिकारीलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

अधिकारी २०७१ सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यतिवेला उनी सांसद थिएनन् । तर स्वास्थ्यमा उनको छोटो कार्यकाल भएपनि उत्कृष्ठ काम भएको जानकारहरु बताउँछन् । स्वास्थ्यका थोरै सफल मन्त्रीहरुको सूचीमा उनी अग्रपंक्तिमा गनिन्थे ।

हक्की स्वभावका अधिकारी नेकपा एमालेका केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य छन् । त्यसअघि उनी एमालेको वैकल्पिक पोलिटव्यूरोसम्म पुगेका थिए । २०७५ सालमा नेकपा एमाले र माओवादी एकीकरणका क्रममा उनी केन्द्रीय कमिटीमा समेटिएका थिए । उनी एमालेको आठौं महाधिवेशनबाट केन्द्रीय सदस्य र पोलिटब्यूरोमा चुनिएका थिए ।

२०५६ र २०६४ सालको चुनावमा पराजय व्यहोरेका अधिकारी २०७४ सालमा पुनः निर्वाचित भएर आए । नेकपा एकीकरण हुनुपूर्व उनी एमालेको प्रमुख सचेतक समेत थिए । पार्टी एकतापछि देव गुरुङ प्रमुख सचेतक भएपछि उनी बाहिरिएका थिए ।

शुक्रबार सरकारलाई पूर्णता दिने क्रममा प्रधानमन्त्री ओलीले सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।

आज नियुक्त हुनेहरुमा गृहमन्त्रीमा अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विक रहेका छन् ।

यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *