अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि विश्वका ९२ देशलाई वितरण गर्ने


वासिङ्टन, २७ जेठ । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् । कोरोनाभाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ । यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ, ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ ।

कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यतिठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो । संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभाक्स मार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ । झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरुले प्राप्त गर्नेछन् ।

एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *