काँग्रेस महाधिवेशन स्थलमा बन्यो हेल्थ डेस्क, ३० स्वास्थ्यकर्मी परिचालन

0
Shares

काठमाडौं, १७ असोज । आइतबारबाट सुरु हुने नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा सहभागीहरुको स्वास्थ्य जाँचका लागि ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क (स्वास्थ्य कक्ष) तयार गरिएको छ । महाधिवेशनस्थल काठमाडौँको खुल्लामञ्चमा हेल्थ डेस्कमार्फत महाधिवेशन प्रतिनिधिहरूका लागि स्वास्थ्य सेवा प्रदान गरिने बताइएको छ ।

महाधिवेशन आयोजक समितिअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार महाधिवेशनस्थल रहेको खुला मञ्चको पश्चिमतर्फ स्वास्थ्य सेवाका लागि हेल्थ डेस्क बनाइएको छ । पाँच वटा कक्ष रहने हेल्थ डेस्कमार्फत सामान्य स्वास्थ्य परीक्षण र आकस्मिक सेवा प्रदान गरिने उनले जानकारी दिए ।

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा. केसीले हेल्थ डेस्क दुई सिफ्टमा सञ्चालन हुने जानकारी दिए । उनका अनुसार डेस्कमा आठ जना चिकित्सक, पारामेडिक्स तथा नर्सहरू रहनेछन् भने मधुमेह, उच्च रक्तचापको जाँचसहित सिटामोल, जीवनजल, घाउचोटमा प्रयोग हुने औषधिलगायत निस्शुल्क सेवा प्रदान गरिनेछ ।

यसैगरी प्रतिनिधिहरूलाई तत्काल आकस्मिक उपचारका लागि अस्पताल लैजानु पर्ने अवस्था आएमा नजिकैको वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बसुन्धारामा रहेको बीपी स्मृति अस्पतालमा व्यवस्था मिलाइएको डा. केसीले उल्लेख गरे । त्यसका लागि महाधिवेशनस्थलमा दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

यसैगरी रातिको समयमासमेत स्वास्थ्य सेवा आवश्यक पर्ने भएमा ‘अन कल ड्युटी’को व्यवस्थासमेत गरिएको छ भने होटलमा रहेको अवस्थामा प्रतिनिधिलाई कुनै समस्या परेमा होटलमै पुगेर स्वास्थ्य जाँच गर्ने प्रबन्ध गरिएको डा केसीले जानकारी दिए ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *