बंगलादेशबाट ५ करोड ट्याव्लेट सिटामोल ल्याउनका लागि अनुमति माग

काठमाडौँ, २५ जेठ । आयान हेल्थ केयर प्रालिले बंगलादेशबाट ५ करोड ट्याव्लेट सिटामोल ल्याउनका लागि औषधि व्यवस्था विभागसंग अनुमति मागेको छ । उसले अनुमति पाएको १० दिन भित्र तोकिएको परिमाणमा सिटामोल नेपाल ल्याउने बताएको छ ।

आयानका सिईओ मोहम्मद कमालले आफूहरुले सिटामोल ल्याउन पाएको खण्डमा अहिलेको बजार मूल्यभन्दा सस्तोमा उपलव्ध गराउने समेत दावी गरे । उनले आफ्नो संस्थाले प्रतिट्याव्लेट ९५ पैसामा उपलव्ध गराउने दावी गरे । यो संस्था त्यहि हो जसले कोरोना महामारीका बंगलादेशबाट ठूलो परिमाणमा रेम्डेसिभिर इन्जेक्सन ल्याएको थियो ।

‘नेपालमा अहिले सिटामोल अभाव भएको जानकारी पाएका छौँ । यस्तो महामारीको बेलामा सबैभन्दा बढी प्रयोग हुने र सर्वसाधारणले औषधि पसलबाट सहजरुपमा प्राप्त गर्ने औषधि अभाव हुनु हुँदैनथ्यो । हामीलाई धेरै ठाँउबाट जानकारी आएको छ कि अभाव छ । त्यसैले हामीले अभाव टार्नका लागि सिटामोल ल्याउन खोजेका हौँ । इन्सेप्टा फार्मास्युटिकल्स बंगलादेशबाट हामीले औषधि ल्याउनका लागि पटके सिफारिसको लागि अनुमति मागेका छौँ,’ उनले भने ।

यसअघि सिटामोल नेपालमा आत्मनिर्भर भएको मानिएको थियो । स्वदेशमै आत्मनिर्भर भएको औषधि बाहिरबाट ल्याउन नमिल्ने गरी सरकारले २०७१ सालमै सचिवस्तरीय निर्णय गरेको छ । त्यसबेला  नयाँ कम्पनीले सिटामोल एजिथ्रोमाइसिन लगायतका करीव २० प्रकारका औषधि ल्याउन नपाउने गरी निर्णय भएको छ । त्यसैकारण पटके सिफारिस माग गरिएको हो । पटके सिफारिसमा देशमा औषधि अभाव भएका बेला एक पटकका लागि आयत अनुमति दिइने गरिन्छ ।

नेपालमा औषधि उत्पादन गर्ने करीव ५० वटा कम्पनीमध्ये अधिकांशले सिटामोल उत्पादन गर्दछन् । उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थको मूल्य बढी रहेको तर सरकारले बढेको मूल्य समायोजन गर्न नसकेको भन्दै उत्पादनमा कटौती गरेपछि सिटामोल अभाव भएको हो ।

औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले सिटामोलको अभाव देखिनु दुखद रहेको बताए । उनले भने, ‘हामीले यस्तै हुनसक्छ भनेर २०७१ सालमा केही औषधि रोक लगाउने औषधि दर्ता नियमावलीको संसोधन प्रति विरोध गरेका थियौँ । आज हामीले गरेको विरोध सहि थियो भन्ने भएको छ।,’ उनले गुणस्तरीय औषधिको उपलव्धताका लागि नियमनलाई कडाई गरी आयात खुल्लाको अवधारणा अघि बढाउनुपर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *