त्रिवि शिक्षण अस्पतालले सञ्चालनमा ल्यायो लिक्वीड अक्सिजन ट्याङ्क

काठमाडौँ, २० जेठ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले लिक्वीड अक्सिजन ट्याङ्क स्थापना गरी सञ्चालनमा ल्याएको छ । सो ट्याङ्क २० हजार लिटर क्षमताको रहेको छ ।

ट्याङ्क  सञ्चालनमा आएसंगै अस्पतालले भोग्नु परेको चरम अक्सिजन अभावलाई पूरा गरेको बताइएको छ ।

अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले त्रिवि शिक्षण अस्पतालमा कोभिड–१९ का सङ्क्रमितहरूको उपचारलाई केन्द्रित गरी ‘लिक्विड अक्सिजन ट्याङ्क  जडान गरेको र बुधबारबाट सञ्चालनमा आएको बताए । उनले भने, ‘बुधबारबाट ट्याङ्कीको अक्सिजन अस्पतालको केन्द्रीय आपूर्ति प्रणालीमा पठाउने काम सुरु भएको छ । अब अस्पतालले कोभिड–१९ का सङ्क्रमितहरूको उपचारमा अक्सिजनको अभाव झेल्नु पर्दैन भन्ने हाम्रो विश्वास छ ।’

यस अस्पतालमा पाइपबाट पानी आपूर्ति गरेजस्तै अक्सिजन पनि आईसीयू, अपरेसन थिएटर लगायतका हरेक वार्ड र कोठामा पाइप प्रणालीबाट नै पठाउने गरिएको निर्देशक काफ्लेले बताए ।

उनका अनुसार अक्सिजन ट्याङ्क  सञ्चालनमा आएपछि त्रिवि शिक्षण अस्पतालले अब बाहिरबाट थप अक्सिजन ल्याउनु पर्दैन ।

लिक्विड अक्सिजनलाई माइनस १८० डिग्री सेल्सियसमा राख्नुपर्छ । एक लिटर लिक्विड अक्सिजनबाट सात सय लिटर अक्सिजन ग्यास बन्ने गरेको उनले जानकारी दिए ।

प्राडा काफ्लेले भने, ‘अब अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन आपूर्तिको व्यवस्था भए पनि बिरामीलाई एक कोठाबाट अर्को कोठामा स्थान्तरण गर्नुपर्दा, अपरेसन थिएटरमा लानुपर्दा वा अपरेसन थिएटरबाट वार्डमा स्थानान्तरण गर्नुपर्दा वा एम्बुलेन्समा लानुपर्दा ‘ब्याक अप’ रूपमा अक्सिजन सिलिन्डर राख्नुपर्ने हुन्छ ।’

यसअघि एक महिनासम्म अस्पतालले अक्सिजनको अभावसँग जुध्नु परेको थियो । निर्देशक काफ्लेले अब अस्पतालको आफ्नै अक्सिजन ट्याङ्क  सञ्चालनमा आएपछि यो समस्याबाट पार पाउन लागेको जानकारी दिए ।

बिरामीको चाप र अक्सिजनको चरम अभाव भएका बेला यो अस्पताललाई प्राप्त चीनबाट आएका ५३ वटा लिक्विड ट्याङ्कमध्ये अहिलेसम्म १० वटा बाँकी रहेको उनले बताए ।

ट्यांक स्थापना गर्न स्वास्थ्य मन्त्रालयले ८० लाख रुपैयाँ दिएको थियो । सोही बजेटबाट ट्यांक स्थापना गरिएको निर्देशक प्राडा काफ्लेले बताए ।
यसअघि त्रिवि शिक्षण अस्पताल परिसरमा ४ वटा अक्सिजन प्लान्ट सञ्चालनमा थियो । नर्मल अवस्थामा प्लान्टबाटै अक्सिजन प्रयाप्त हुने गरेको प्राडा काफ्लेले बताए । कोभिडको दोस्रो लहरमा अक्सिजन सपोर्टको बिरामीहरु एकै पटक धेरै आउँदा अभाव भएको बताए । यो ट्याक आएपछि एकपटक लिक्वीड हाल्दा १५ दिन जतिलाई पुग्ने समेत बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *