कोरोना भाइरसबिरुद्धको चिनियाँ खोप सिनोभ्याकले पनि पायो डब्लुएचओको अनुमति

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।
डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।

गत महिना चिनियाँ कम्पनी सिनोफार्मले बनाएको भेरोसेल आपतकालीन प्रयोगको अनुमति पाइसकेको छ ।

सिनोभ्याकको अनुमतिसंगै अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।
सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।

यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।
आपत्‌कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले  ‘सुरक्षा, प्रभावकारिता तथा उत्पादन’का अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको डब्लुएचओले जनाएको छ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो।

कोभ्याक्सलाई राहत
सिनोभ्याकका अनुसार उसले स्वदेश र विदेश गरी मे महिनाको अन्त्यसम्म ६० करोड मात्रा आपूर्ति गरिसकेको छ, जसमध्ये ४३ करोड मात्रा खोप लगाइसकिएको छ।

सिनोभ्याक खोपको एउटा मुख्य फाइदा भनेको यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा सामान्य रेफ्रिजरेटरमा भण्डार गर्न सकिन्छ।अर्थात् न्यून तापक्रममा ठूलो परिमाणमा खोप भण्डार गर्ने क्षमता नभएका विकासोन्मुख देशहरूका निम्ति यो सहज हुनेछ।

डब्लुएचओको मान्यतापश्चात् गरिब देशहरूलाई खोप वितरण गर्ने कोभ्याक्स कार्यक्रमले यो खोपलाई पनि प्रयोग गर्ने बाटो खुलेको छ।भारतले खोप निर्यातमा प्रतिबन्ध लगाइदिएपछि कोभ्याक्सले गरिब देशहरूलाई आपूर्ति गर्न सकिरहेको थिएन।

कतिवटा खोपले पाए डब्लुएचओको अनुमति ?
डब्लुएचओले यसअघि विभिन्न देशमा बनेका सातवटा कम्पनीको खोपलाई कोभिडबिरुद्ध आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । ती खोपहरुमा फाइजर बायोन्टेक, एस्ट्राजेनेका एसके बायो, सिरम इन्स्टीच्युट अफ इन्डिया, एस्ट्राजेनेका इयु, जोन्सन एण्ड जोन्सन, मोर्डना र सिनोफार्म रहेका छन् ।

सिनोभ्याकले समेत डब्लुएचओको अनुमती पाएपछि कोभ्याक्स सुविधामा अब ८ वटा कम्पनीका खोपहरु प्रयोगमा आउन सक्नेछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *