‘सुर्तिजन्य पदार्थको प्रयोग न्युनिकरणका लागि कानूनलाई प्रभावकारीरुपमा कार्यान्वयन गरौँ’

काठमाडौँ, १७ बैशाख ।  नसर्ने रोगको प्रमुख कारक सुर्तिजन्य पदार्थको प्रयोगलाई न्युनिकरण गर्न यसअघि नै बनेको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, एक्सन नेपाल र द युनियनको संयुक्त आयोजनामा भएको भर्च्युअल अन्तरक्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै विगटित प्रतिनिधि सभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले सुर्ति नियन्त्रण सम्वन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा प्रयोगमा नियन्त्रण आउन नसकेको बताए । उनले कानून कार्यान्वयन गर्ने सरकारी निकायका प्रतिनिधिहरु सूर्ति उद्योगको प्रभावमा परेको आशंका गरे । हामीले १० बर्ष अघि बनाएका कानूनअहिलेसम्म कार्यान्वयन गर्न सकेनाँै ? किन सकेनौँ ? राज्यले आफूले बनाएको कानून कार्यान्वयन गर्न नसक्नु आफैमा लज्जास्पद भएको बताए ।

यस्तै विगटित प्रतिनिधि सभाका सदस्य एव नेतृ रामकुमारी झाँक्रीले जनस्वास्थ्यमा हानी गर्ने सूर्तिजन्य पदार्थ नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गर्नै पर्नेमा जोड दिईन् । उनले पछिल्लो समय सुर्तिजन्य पदार्थको प्रयोगलाई कतिपयले सानको रुपमा लिने गरेको भन्दै यसलाई निरुत्साहित गर्नुपर्ने बताइन् । उनले सूर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वनयमा आफू प्रतिवद्ध रहेको समेत स्पष्ट पारिन ।

राष्ट्रिय सभा सदस्य कोमल वलीले जनस्वास्थ्यलाई हानी गर्ने सुर्तिजन्य पदार्थ प्रयोग नगर्न नगराउन सबैको हातेमालो आवश्यकता रहने बताइन । उनले धूमपानको कुलतमा लागिसकेकाहरुलाई कुलतबाट निकाल्ने उपयुक्त विकल्पको खाँचो रहेको औल्याइन् ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले कोभिड महामारीका कारण सूर्तिजन्य पदार्थको नियमन तथा अनुगमन र यसलाई निरुत्साहित गर्ने कार्यक्रम ल्याउन नपाएको भन्दै अवस्था सहज हुनासाथ यसले प्राथमिकता पाउने ठोकुवा गरे । उनले महामारीकै बीचमा मन्त्रालयको प्रयासले नै यसपटक सुर्तिजन्य पदार्थमा कर बढेको समेत दावी गरे ।

कार्यक्रममा सुदुरपश्चिम प्रदेशका प्रमुख सचिव रामकृष्ण सुवेदीले काठमाडौमा प्रमुख जिल्ला अधिकारी हुँदाका बखत सुर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयन गराउन खोज्दा उल्टै कानूनी झमेलामा फसेको र त्यसबेला स्वास्थ्य मन्त्रालयको समेत अपेक्षित साथ नपाएको आरोप लगाए । उनले कतिपय सरकारी अधिकारीहरु समेत सुर्ति उद्योगीको प्रभावमा परेको दावी गरे ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइऔएमका डीन प्राडा दिव्यासिंह शाहले सुर्तिजन्य पदार्थ जनस्वास्थ्यको लागि एकदमै हानीकारक बस्तु रहेको भन्दै यसको प्रयोग नियन्त्रण गर्न सबै क्षेत्रको उत्तिकै दायित्व भएको बताइन । प्रधानमन्त्रीको निजी चिकित्सक समेत भएकी डा शाहले सुर्ति नियन्त्रण सम्वन्धी कानून कार्यान्वयनका लागि आफूले समेत सरकारको ध्यानाकर्षण गराउने प्रतिवद्धता गरिन् । त्रिवि शिक्षण अस्पतालले सुर्ति उद्योगीसंग सहयोग लिएको भन्ने प्रश्नमा उनले त्यसबारेमा आफूलाई थाहा नभएको भन्दै यदि लिएको भए गलत भएको प्रष्ट पारिन । उनले आफ्ना अधिकारीहरुसंग यसबारेमा जानकारी लिने र सचेत गराउने समेत बताईन ।

द युनियन एसिया प्यासेफिक क्षेत्रका निर्देशक डा तारासिंह बमले सूर्ति नियन्त्रण सम्वन्धी कानून उत्कृष्ठ बनाएको नेपालले कार्यान्वयनमा फितलोपना देखाएको बताए । उनले अहिले पनि अर्थ मन्त्रालयको राजश्व परामर्श समितिमा सुर्ती उद्योगका प्रतिनिधि सहभागी हुने गरेको भन्दै कानूनको बर्खिलाप हुने काम त्यहिबाट भएको आरोप लगाए । सुर्तिजन्य पदार्थमा सबैभन्दा बढी प्रतिशत चेतावनीमुलक चित्र छाप्ने व्यवस्था गरेको नेपालको सिको गर्दै भारत, श्रीलंका टिमोर लिष्टे लगायतका धेरै देशहरुले कानून बनाएको स्मरण गर्दै उनले अहिले ती देशमा प्रभावकारी रुपमा कानून कार्यान्वयन हुँदा नेपालमा लागू हुन नसक्नु विडम्वनापूर्ण रहेको टिप्पणी गरे । उनले मिडिया, नागरिक समाज, सामाजिक संघसंस्थासंग मिलेर सरकारले तत्कालै कानून कार्यान्वनय गर्न जोड दिए ।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा राजेश सम्भाजी राव पाण्डवले सुर्तीजन्य पदार्थको प्रयोगले हुने जनस्वास्थ्यका हानीका बारेमा चर्चा गर्दै यसको प्रयोग रोक्नु र प्रयोग गरिसकेकाहरुलाई त्याग्ने भावना जागृत गराउनु अहिलेको आवश्यकता रहेको बताए । उनले सुर्तिजन्य पदार्थको प्रयोगले विश्वभर बर्षेनी ८० लाख बढी व्यक्तिको मृत्यु हुने गरेको बताउँदै धूमपान गर्ने व्यक्तिको नजिक बस्ने तर प्रत्यक्ष रुपमा धूमपान नगर्ने करीब १२ लाख व्यक्तिको पनि हरेक बर्ष ज्यान जाने गरेको उनले सुनाए ।

मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले कोरोना कहरकारण सूर्तिजन्य पदार्थको केही घटेको भन्दै यहि बेला युवा बर्गलाई लक्षित गरी थप कार्यक्रम ल्याउनु पर्ने बताए । ‘कतिपय युवा तथा किशोर किशोरीले घर बाहिर जाँदा मात्रै सुर्तिजन्य पदार्थको सेवन गर्ने रहेछन्, अहिले लकडाउनमा घरमा बस्दा त्यो रोकिएको छ । अर्को कोरोना संक्रमणमा सुर्तिजन्य पदार्थ सेवन कर्ताको फोक्सोमा छिटो क्षति हुन्छ भन्ने डरले पनि कतिपय सेवन गर्न छाडेका छन् । यहिवेला नै यो सुर्ति नियन्त्रण गर्ने अभियानलाई थप प्रभावकारी बनाउनु आवश्यक छ’उनले भने ।

उनले सुर्तिजन्य पदार्थको प्रयोगले अहिले क्यान्सर रोग लाग्न नपाउने ठोकुवा गरे । ‘क्यान्सर लाग्नु अघि नै हृदयघात र मस्तिस्कघातबाट युवाहरुको ज्यान गएको छ,’ उनले भने ।

राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले कानून कार्यान्वयनको काम गृह मन्त्रालयले गर्नुपर्ने स्पष्ट व्यवस्था भएको र स्वास्थ्यले त्यसका लागि अनुरोध गरिरहेको बताइन । उनले कोरोना कहरकाबीच सरोकारवालाको सहयोगमा गाइडलाइनहरु बनाउने स्वास्थ्य सचेतनाका सामग्री बनाउने काम भइरहेको बताइन ।

कार्यक्रममा हेल्थ इकोनोमिष्ट डा देवी प्रसाईले सूर्तिजन्य पदार्थमा कर बढाउने र प्रयोग घटाउने रणनीतिको बारेमा बताएका थिए । उनले एकैपटक धेरै कर बढाउन सम्भव नभएपछि थोरै थोरै मात्रै भएपनि कर बढाउन लविङ गरेको सुनाए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्ति उद्योगीहरुले पछिल्लो समय सार्वजनिक महत्वका व्यक्तिहरुलाई समेत आफ्नो प्रभावमा पार्ने र उनीहरुमार्फत गैरकानूनी कार्य गराउने कोशिश गरेको बताए । उनले कानूनले स्पष्ट निषेध गरेको डोनेसन लिन नपाउने कार्यलाई यो बीचमा सार्वजनिक जीवनमा उच्च ओहोदामा रहेका व्यक्तिमार्फत दिलाउन खोजेको, कोरोना महामारीकाबीचमा प्रदेश सरकार र संघीय अस्पतालहरुमा डोनेसन बाढीरहेको । गीत संगीतका माध्यमबाट सूर्तिजन्य पदार्थको प्रचार गरिरहेको बताए ।

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य पत्रकारहरुले कानून कार्यान्वयनका लागि निरन्तर पैरवी र कानून मिचिएको छ कि भनेर निरन्तर निगरानी गरिरहेको बताए । उनले पछिल्लो समय स्वास्थ्य मन्त्रालयले सूर्ति नियन्त्रण सम्वन्धी कार्यक्रममा अपेक्षाकृत चासो नदिएको आरोप लगाए । उनले सुर्ति नियन्त्रण सम्बन्धी कार्यका लागि लागि सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै आफूहरुसंग सहकार्य गरेर अघि बढ्न सुझाव समेत दिए ।

कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीले नेपालमा पछिल्लो सुर्तिजन्य पदार्थको प्रयोगको अवस्था, सरकारले गरेका र गर्दै गरेका कामहरुको बारेमा प्रस्तुति राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा झण्डै ९० जनाको सहभागिता थियो ।

‘सुर्तिजन्य कुलत त्याग्ने प्रतिज्ञा गर्नुहोस, कुलत त्याग्नेहरु नै बास्तविक विजेता हुन्’ भन्ने नाराका साथ आज संसारभर विभिद कार्यक्रम गरी विश्वधूमपानरहित दिवस मनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *