एक महिना भित्र १३ लाख ६४ हजार बढीले लगाउनु पर्ने छ कोभिसिल्डको दोस्रो डोज

काठमाडौँ, १३ जेठ । यतिवेला भारतको सिरम इन्स्टिच्युटले आफूले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभिसिल्ड निर्यात रोकेको छ । त्यसको प्रत्यक्ष असर पहिलो डोज कोभिसिल्ड लगाईसकेका साढे १३ लाख बढी नेपालीलाई परेको छ ।

पहिलो डोज कोभिसिल्ड लगाएका १३ लाख ६४ हजार बढीले अबको एक महिना भित्र दोस्रो डोज लगाउनु पर्नेछ । किनभने कोभिसिल्ड खोपको पहिलो र दोस्रो डोजको अन्तर १२ देखि १६ हप्ता तोकिएको छ । पहिलो डोज लगाएकाहरुको सो अवधी पुरा हुन अब एक महिना बाँकी छ ।

भारत सरकारको अनुदान सहयोगमा १० लाख डोज, खरीदबाट १० लाख डोज र कोभ्याक्स सुविधा अन्तरतर्गत ३ लाख ४८ हजार डोज र नेपाली सेनाका लागि भारतीय सेनाले दिएको १ लाख डोज गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल भित्रिएको छ । तर सेनाले पाएको खोप कति र कसलाई लगाइयो त्यसको विस्तृत विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाएको छैन ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले अहिलेसम्म १८ लाख ७ हजार ८०७ जनालाई कोभिसिल्डको पहिलो डोज खोप दिइएको बताएको छ । सो खोपको दोस्रो डोज भने ३ लाख ८१ हजार ९४ जनाले मात्रै पाएका छन् । पहिलो चरणमै कोभिसिल्ड खोप लिएर दोस्रो डोज लगाउन छुटेका करीव ९० हजार फ्रन्टलाइनरलाई महाशाखाले हिजोबाट दोस्रो डोज लगाउन थालेको छ । तर ठूलो संख्यामा पहिलो खोप लगाइसकेका व्यक्तिले दोस्रो डोज कोभिसिल्ड लगाउन बाँकी छ ।

महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले १८ लाख ७ हजार ८०७ जनाले कोभिसिल्डको पहिलो मात्रा खोप लिएको बताए । उनले सोही खोपको दोस्रो मात्रा लिनेको संख्या ३ लाख ८१ हजार ९४ रहेको जानकारी दिए । डा गौतकका अनुसार पहिलो डोज कोभिसिल्ड लिलएकामध्ये १४ लाख २६ हजार ७१३ जनाले दोस्रो डोज लिन पाएका छैनन् ।

त्यसमध्ये दोस्रो डोज लिन बाँकी ६५ बर्ष माथिकाको संख्या ९ लाख बढी छ । डा गौतमले अहिले पहिलो चरणमा पहिलो मात्रा खोप लिएका करीब ९० हजारका लागि मात्रै दोस्रो डोज कोभिसिल्ड दिन पुग्ने खोप मौज्दात रहेकोले उनीहरुलाई सो खोप दिन थालिएको स्पष्ट पारे ।
विज्ञहरुले पहिलो मात्रा जुन लगाएकै खोप दोस्रो मात्रा पनि त्यहि लगाउनु पर्ने बताएका छन् । त्यसका लागि पनि भारतबाट १४ लाख बढी कोभिसिल्ड आउनुपर्ने आवश्यकता छ ।

अनुदानमा आएको ८ लाख डोज भेरोसेलमध्ये साढे २ लाख बाँकी

यता चीन सरकारको सहयोगमा आएको ८ लाख डोज भेरोसेलमध्ये अहिले पहिलो डोज २ लाख ८९ हजार ४१७ जनालाई र दोस्रो डोज २ लाख ४७ हजार ७९० जनालाई गरी कुल ५ लाख ३७ हजर २०७ जनाले पाएका छन् । पहिलो मात्रा लगाएका ४१ हजार ६७२ जनाले भेरोसेलको दोस्रो मात्रा लगाएका छैनन् । शाखाले अहिले पनि खेर जाने मात्रा नजोडीकन २ लाख ६२ हजार ७९३ डोज खोप मौज्दात रहेको बताएको छ ।

चिनियाँ खोप काठमाडौँ उपत्यकाका तीन सहित रसुवा , काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक गरी सात वटा जिल्लामा चलाइएको थियो । यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका लागि प्रयोग गरिएको थियो ।

यसैबीच चीन सरकारले थप १० लाख डोज कोभिडबिरुद्धको खोप नेपाललाई अनुदान सहयोगमा दिने घोषणा गरेको छ । यसले खोपको पर्खाईमा रहेका नेपालीका लागि लागि राहत भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जीनपीङबीच भएको टेलिफोन बार्तापछि चीनले थप १० लाख डोज खोप दिने निर्णय गरेको हो ।

त्यसो त राष्ट्रपति भण्डारीले भारतीय समकक्षी रामनाथ कोविन्दलाई चिठी पठाई कोभिसिल्ड खोप उपलव्धताका लागि सहजीकरण गर्न आग्रह गरेकी छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *