सिकिस्त बिरामी हुँदा एम्बुलेन्स नदिने स्वास्थ्य प्रमुखले मृत्यु पछि माफी मागे

सल्यान, ८ जेठ । एक जना गम्भीर बिरामी भएका व्यक्तिलाई अस्पतालसम्म लैजान उनका परिवारका सदस्यले नगरका स्वास्थ्य प्रमुखसंग एम्बुलेन्सका लागि फोन गरे । तर, पचासौँ पटक विभिन्न व्यक्तिले गरेको फोन उठेन । फोन नउठाएपछि टोलबासी उनी बसेकै घरमा एम्बुलेन्स माग्न पुगे । घरमा आएका टोलबासीलाई सबै बिरामीलाई यहि एम्बुलेन्समा लैजानुपर्ने भन्न कहाँ लेख्या छ  ? भन्दै हप्काएर पठाए ।

टोलबासीले तत्कालै बैकल्पिक व्यवस्था मिलाउन पनि सकेनन् । माथिल्लो तहबाट पुन फोन गराएर अस्पताल पुरयाउँदा पुरयाउँदै बिरामीको मृत्यु भयो । मृत्युपछि भने उनले आफूबाट गल्ती भएको भन्दै मृतक र नगरबासीहरुसंग माफी मागेका छन् ।

घटना हो सल्यानको । गत विहीबार राती वनगाड कुपिण्डे १ सल्लीबजार बस्ने ४९ बर्षका भोलबहादुर बूढा गम्भीर बिरामी परेपछि परिवार र टोलबासीले नगरपालिकाका स्वास्थ्य प्रमुख रहेका सीअहेव बासुदेव पोखरेललाई एम्बुलेन्स उपलव्ध गराईदिन पचासौँ पटक फोन गरे । फोन नउठेपछि टोलबासी उनको घरमै पुग्यो र एम्बुलेन्स माग्यो तर उनी अन्टसन्ट कुरा गरेर तर्किए । एम्बुलेन्स दिन मानेनन् । जब शुक्रबार विहानै बिरामीको मृत्यु भएको सुने त्यसपछि भने हतार हतार आफ्नो कमजोरी भएको भन्दै क्षमा मागेका छन् ।

उनले नगरपालिका लेटरप्याडमा क्षमा लेख्दै भनेका छन्, ‘म यस नगरपालिकाका सीअहेव अधिकृत छैटौँ तहको बासुदेव पोखरेललाई स्वास्थ्य उपचार तथा एम्बुलन्ेस सहायतका लागि मृतकका सदस्यबाट २०७७।०२।७ गते राती पटक पटक फोन आएकोमा मैले फोन नउठाएको र घरमै आएर बोलाउँदा पनि जवाफदेही नभएको हुँदा मेरो गैर जिम्मेवारपूर्ण व्यवहारका कारण बनगाड कुपिण्डे नगरपालिका ७ घर भई हाल बनगाड कुपिण्डे १ सल्लीबजार बस्ने बर्ष ४९ बर्षका भोलबहादुर बुढाको मृत्यु भएको भन्ने प्रति ध्यानाकर्षण भएको छ, मेरो यस्तो व्यवहारप्रति म क्षमा याचना चाहन्छु । आगामी दिनमा यस्तो गल्ती पुन नदोहोरिने समेत प्रतिवद्धता जाहेर गर्दछु ।’

आफन्तका अनुसार मृतक बुढामा कोभिडको आशंका गरिएको थियो । ‘परिवारका सदस्यहरु संक्रमणमा परेका थिए । उनमा पनि स्वासफेर्न समस्या थियो । अरु लक्षण पनि मिलेको थियो । सायद संक्रमण नै होला,’ आफन्तले भने ।

स्वास्थनीयहरुले भने स्वास्थ्य प्रमुखले समयमै एम्बुलेन्स उपलव्ध नगराएका कारण बिरामीको मृत्यु भएको भन्दै स्वास्थ्य प्रमुख पोखरेलमाथि कडा कारवाहीको माग गरेका छन् ।  एम्बुलेन्सको सम्पर्क नम्बरमा आफ्नो नम्बर लेखाएका स्वास्थ्य प्रमुख पोखरेलले विगतमा पनि धेरैलाई धोका दिएको उनीहरुले बताएका छन् ।

घटनाको विषयमा जिल्ला प्रशासन र प्रहरीले ध्यानाकर्षण भएको बताएको छ । नगरपालिकाले आवश्यक छानवीन गरी कारवाही गर्ने प्रतिवद्धता जनाएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *