बंगलादेशबाट मंगलबार थप ३२ हजार रेम्डेसिभिर ल्याउने तयारी

काठमाडौँ, २७ बैशाख । कोरोनाबिरुद्ध प्रयोग हुँदै आएको औषधि रेम्डेसिभिर इन्जेक्सनको थप ३२ हजार भाइल मंगलबार (भोलि) नै आइपुग्ने सम्भावना बढेको छ । सरकार र व्यावसायीको संयुक्त पहलमा विमान चार्टर गरी बंगलादेशबाट औषधि ल्याउने तयारी भएको हो ।

हालैका दिनमा बंगलादेश सरकारले नेपाल सरकारलाई १० हजार भाइल रेम्डेसिभिर सहयोग गरेको छ । यस्तै सबैभन्दा बढी आयात अनुमति पाएको आयान हेल्थ केयरले आफ्नो दोस्रो लट यहिले थप २२ हजार भाइल गरी ३२ हजार रेम्डेसिभिर मंगलबारसम्म ल्याउने तयारी भएको हो । त्यसका लागि सरकार र व्यावसायीले हिमालय एयरलायन्स चार्टर गरी रेम्डेसिभिर ल्याउने तयारी भएको हो ।

औषधि व्यवस्था विभाग स्रोतले भोलि विहानै चार्टर विमान बंगलादेश गएर बेलुकासम्म ३२ हजार भाइल रेम्डेसिभिर ल्याइसक्ने योजना बनेको सुनायो ।

‘रेम्डेसिभिरको माग बढेको छ । त्यसैले भोलि नै प्लेन चार्टर गरी भोलि नै ल्याउने योजना हो । १० हजार भाइल सरकारको र २२ हजार भाइल व्यवसायीको हो । कुल मिलाएर ३२ हजार भाइल आउने भनेको हो । त्यसका लागि केही अफिसियल प्रक्रिया बाँकी छ । फ्लाइट सेड्युलको कुरामा पनि केही काम बाँकी छ । त्यो आज मिलाएर भोलि नै औषधि लिन जाने योजना हो,’ विभाग स्रोतले भन्यो ।

कोभिड उपचारमा खटिएका चिकित्सकहरुले रेम्डेसिभिर त्यति धेरै प्रभावकारी नभएको बताउँदै आएका छन् । तर यो भन्दा प्रभावकारी अरु औषधि नभेटिएकाले अहिले यसको माग भने बढी रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *