राष्ट्रिय ट्रमा सेन्टरमा आजैबाट शुरु भयो कोभिड उपचार सेवा

काठमाडौँ, २६ बैशाख । दुर्घटना तथा चोटपटक लागेका घाइतेहरुको उपचार गर्ने राष्ट्रिय ट्रमा सेन्टरमा आजैबाट कोभिड – १९ का बिरामीले उपचार पाउन थालेका छन् । ट्रमा सेन्टरले आफ्नो नियमित सेवालाई वीर अस्पताल तर्फ सिफ्ट गर्दैै आजैबाट कोभिड – १९ को बिरामी भर्ना गर्न थालेको हो ।

ट्रमा सेन्टर सेन्टरका निर्देशक सन्तोष पौडेलले अहिलेसम्म वीर अस्पतालको आकस्मिक कक्षमा आएका १० जना बिरामी भर्ना भइसकेको भन्दै थप विरामी विस्तारै लिँदै जाने बताए । उनले यसअघि भर्ना भएका ट्रमाका सबै बिरामीलाई सार्नु पर्ने भएकोले पुरा क्षमतामा बिरामी भर्ना लिन एक दुई दिन समय लाग्ने बताए ।

ट्रमा सेन्टरले कम्तीमा २०० शैय्याको कोभिड उपचार केन्द्र सञ्चालनमा ल्याउने योजना बनाएको छ ।

उपत्यकामा दिनहुँ कोभिडका संक्रमित बढ्दै जाने र अक्सिजन अभाव हुने अवस्था आएपछि आफ्नै लिक्वड अक्सिजन प्लान्ट भएको ट्रमा सेन्टरले तत्कालका लागि आफ्ना बिरामीलाई अन्यत्रका अस्पतालमा सारेर कोभिडका बिरामीको उपचार गर्ने निर्णय गरेको थियो । सोही अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीलाई वीर अस्पताल र अत्तरखेल अस्पतालमा सिफ्ट गरेर ट्रमा सेन्टरमा कोभिडको उपचार हुने सूचना जारी गरेको थियो ।

तर, ट्रमा सेन्टरमा उपचार गराईरहेका बिरामीहरुले वीरमै उपचार गर्न चाहेको कारण मिलाउन केही समय लाग्ने डा पौडेलले बताए ।  उनले भने, ‘यहाँ सेवा लिएका ट्रमाका बिरामीले सर्नै परे वीरमा सरुला भन्नु भएको छ । त्यसैले हामी मिलाउँदै छौँ । सबै बेड सञ्चालनमा ल्याउन एक दुई दिन लाग्ला कि ?’

ट्रमामा विहानसम्म ६४ जना बिरामी रहेको र त्यसमध्ये ३२ जना शल्यक्रिया गर्नुपर्ने बिरामी रहेको अस्पतालले जनाएको छ । शल्यक्रिया गर्न बाँकी रहेका बिरामीको वीरमै शल्यक्रिया गर्ने गरी योजना बनाइदै गरिएको डा पौडेलले बताए । ‘यहाँ भए युनिफाइड टोली हुने भयो । हामी नै गएर त्यहाँ शल्यक्रिया गर्न सक्ने भयौँ । र हामीले त्यहि योजना गरेका छौँ,’ डा पौडेलले भने ।

यसअघि शनिबारको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ सर्जिकल भवनलाई ५०० बेडको कोभिड डेडिकेटेड अस्पतालको रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सो अस्पताल भोलिबाटै सञ्चालनमा आउने बताइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *