अक्सिजन व्यवस्थापन र वितरणको जिम्मा अब सीसीएमसीलाई

काठमाडौँ, २६ बैशाख । कोभिडका बिरामी तथा तिनको उपचार गरिरहेका अस्पतालहरुलाई चाहिने अक्सिजनको वितरण तथा व्यवस्थापनको काम अब कोभिड- १९ क्राइसिस म्यानजमेन्ट सिस्टम (सीसीएमसी)ले लिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज बसेको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस) को बैठकले अक्सिजन व्यवस्थापन तथा वितरणको जिम्मा सीसीएमसीलाई दिने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यका सहित देशका कतिपय स्थानमा कोभिडको उपचार गर्ने अस्पताललाई नै अक्सिजन नपुगेको भन्ने गुनासो आएपछि यसलाई अझ व्यवस्थित गर्न सीसीएमसीलाई जिम्मा दिने निर्णय भएको बताए । उनले भने, ‘अक्सिजनको जिम्मा पनि अहिलेसम्म स्वास्थ्यको मात्रै हो भन्ने भनिएको थियो । तर महामारीमा यसैका हाहाकार होला जस्तो भयो । यसको अनुमगन गर्नुपर्ने भयो । यसलाई अझ व्यवस्थित ढंगले बितरण गर्नुपर्ने भयो । त्यसैले सीसीएमसीलाई जिम्मा दिने निर्णय भएको हो । सीसीएमसी अझ उच्चस्तरीय टिम हो । त्यसमा विभिन्न मन्त्रीहरु हुनुहुने भयो । उपत्यकामा त प्रमुख जिल्ला अधिकारीहरु समेत हुनुहुन्छ । प्रहरी सेनाका प्रमुखहरु पनि हुनुहुने भयो । यसले अभाव रोक्नका लागि उच्चस्तरीय संयन्त्र गठन गरि काम शुरु गर्नेछ । र त्यसमा स्वास्थ्य मन्त्रालय त जोडिने नै छ ।’

यसअघि मन्त्रालयले शनिबार अक्सिजन उद्योगहरुलाई पत्र लेख्दै कुनै पनि अस्पताललाई अक्सिजन दिनु अघि आफ्नो सिफारिस छ छैन् हेर्नु भनेको थियो । यसको कतिपय अस्पताल सञ्चालकहरुले बिरोध समेत गरेका थिए ।

‘हाम्रो उदेश्य सबै बिरामीका लागि सहज ढंगले अक्सिजन पाउन भन्ने हो । अहिलेको अवस्थामा छाडीदिने हो भने अस्पतालले अक्सिजन पाउँदैनन् नै । त्यसैले यो कदम चालिएको हो । कतिपय अस्पताल सञ्चालकहरुले कुरा नबुझेको हुनसक्छ । अस्पतालले चाहिने जति अक्सिजन पाउनेछन्’ डा गौतमले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *