सल्यान अस्पतालमा कसरी भइरहेको कोभिड-१९ संक्रमितको उपचार ?

डा. प्रदीप शर्मा

सल्यान जिल्ला अस्पतालमा यो बर्षको पहिलो कोभिड – १९ को केश ६ बैशाखमा आएको हो । पहिलो संक्रमित एक जना नेपाली सेनाका जवान थिए तर उनी जिल्ला छाडेर कहि कतै निस्किएका थिएनन् ।

त्यस पछिका दिनहरुमा दुई तीनवटा गर्दै केशहरु आउन थाले । दिनमा सात जनासम्म अक्सिजन कम भएर भर्ना गर्नुपर्ने अवस्था आयो ।

गत २४ बैशाखसम्ममा अस्पतालमा ८० जना संक्रमित भइसकेका छन् । लगभग सबैलाई अक्सिजन लगाउनु परेको छ । ४३ जना ठिक भएर डिस्चार्ज भएका छन् । अहिले २० जना अक्सिजन लगाएर उपचाररत छन् । ११ जना जटिल भएर रिफर भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

परीक्षण कति भयो ?
कोरोनाको दोस्रो लहर शुरु भएपछि अहिलेसम्म ८०४ जनाको एन्टीेजेन विधिबाट कोभिड १९ परीक्षण गरिएको थियो । त्यसमध्ये ४०५ जनामा पोजेटिभ आएको थियो । ४५ जनाको पीसीआर विधिबाट परीक्षण गरियो ४२ जनाको पोजेटिभ आएको थियो । कुल मिलाएर अहिले जिल्लामा ४४७ जना कोरोना संक्रमणमा परेका छन् ।

उपचार व्यवस्था कस्तो छ ? उपचारका लागि उपकरण कति छन् ?
अहिले पनि कोभिडका बिरामीलाई अक्सिजन पुरयाउन साह्रै गाह्रो छ । अस्पतालमा ५ वटा अक्सिजन कन्सन्टेटर र १४ वटा सिलिन्डर छन् । एउटा कन्सन्टेटर र सिलिन्डरबाट दुई जना बिरामीलाई अक्सिजन दिन परेको छ । प्रायजसो दैनिक अक्सिजन भर्न दाङ, सुर्खेत, नेपालगञ्ज पठाउनु परेको छ ।अक्सिजन प्लान्ट एक साता अघि आएको छ तर जडान भएको छैन र अर्को हप्तासम्म जडान हुने आशा छ ।

जनशक्ति व्यवस्थापन ?
यहाँ कार्यरत १४ जना करारका स्वास्थ्यकर्मीले ४ महिना देखि तलव पाएका छैनन् । जुनकुराको निरन्तर आवाजपछि भर्खरै मात्र प्रदेश सरकारले पैसा पठाएको छ । स्वास्थ्यकर्मी पनि तीन जना संक्रमित भइसकेका छन् । अहिले डाक्टर नर्स र प्यारामेडिक्सको दुई समूह बनाएर काम गरेका छौं ।

सरकारले अझै १५ बेडमा सिमित राखेको अस्पतालमा ३६ बेड त सञ्चालन नै थिए । त्यसमा १६ बेड कोभिडको उपचारका लागि थपिएका छन् ।
अहिले त आकस्मिक कक्ष पनि कोभिड वार्ड भइसकेको छ । किनभने बिरामी आएपछि फर्काउन मिलेन । स्थानीय तहका स्वास्थ्य संस्थामा एक दुई वटा बाहेक उपचार गर्न सक्ने अवस्थामा छैनन् ।त्यसैले सबै बिरामी जिल्ला अस्पतालनै आउने गर्छन् । कोभिड बाहेक अरु इमरजेन्सी सेवा जस्तै प्रसूति सेवा, सीएस सेवा, आकस्मिक शल्यक्रिया र जटिल अवस्थाका उपचार नियमित रुपमा नै चलिरहेको छ ।

जिल्ला अस्पतालमा अहिले निक साइमन इन्स्टिच्युट (एनएसआई)को सहयोगमा ५ जना डाक्टर एक जना स्टाफ नर्स र एक अनेस्थेसिया सहायक र एक बायोडिकिकल टेक्निसियन कार्यरत छन् । जसले गर्दा अस्पतालको उपचारात्मक सेवा प्रभावकारी भएको छ ।

प्रदेश सरकारले सल्यानको लागि भर्खर एक करोड रुपैयाँ कोभिडको लागि छुट्याएको छ । जसबाट आवश्यक उपकरण किन्न सकिन्छ र जोखिम भत्ता पनि दिन सकिन्छ ।

अक्सिजन प्लान्ट पनि अर्को हप्तासम्म जडान हुन्छ भन्ने आशा छ । यस्तो विसम परिस्थितिमा आएको पैसा तुरुन्त चाहिने ठाँउमा खर्च गरेर राम्रो गुणस्तरका सामान किनेर प्रयोगमा ल्याउन पर्ने देखिन्छ । जो सरकारी स्वास्थ्य संस्थामा निकै कम देख्न पाइन्छ ।

अब भने सरकारले जसरी पनि रातदिन काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोस्साहन गरेर बिरामीलाई राम्रो उपचार दिने बाताबरण मिलाउनुपर्ने अवस्था आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *