राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालले ‘युनिफाइड’ रुपमा कोभिड बिरामीको उपचार गर्ने

काठमाडौँ, २५ बैशाख । राष्ट्रिय ट्रमा सेन्टरको २०० शैय्या अब कोरोना सक्रमितको उपचारमा प्रयोग हुने भएको छ । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा पनि थप २०० शैय्या कोभिड संक्रमितको उपचारका लागि सञ्चालनमा ल्याइदैछ ।

स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमका पदाधिकारीसंगको छलफलमा वीर र ट्रमाको गरी शुरुमा ४०० शैय्या कोभिड १९ का बिरामीका लागि प्रयोग गर्ने सहमति भएको छ ।

खासगरी ट्रमामा लिक्वड अक्सिजन प्लान्ट छ । अहिले कोभिडका बिरामीलाई बढी अक्सिजन चाहिने र अक्सिजन नै अभाव भइरहेको अवस्थामा ट्रमा सेन्टर उपयुक्त हुने भएपछि आफैले प्रस्ताव अघि सारेको निर्देशक डा सन्तोष पौडेलले बताए । उनले आफूकहाँ करीब ६५ जना ननकोभिड (ट्रमा)का बिरामी उपचाररत रहेको भन्दै ती बिरामीलाई सार्न सकेमा भोलिबाटै कोभिड सेवा सञ्चालन गर्ने जानकारी दिए ।

डा पौडेलले भने, ‘मान्छेहरु भकाभक मर्न थाले, अक्सिजनको हाहाकार हुन थाल्यो । यो अवस्थामा ट्रमामा प्लान्ट छ । अक्सिजन सप्लाई सहज हुन्छ । २०० बेड यहाँ चलाईयो भने पनि धेरै मान्छे बाच्छन् भन्ने लाग्यो । यो महामारीको बेलामा जहाँ जसरी सहज हुन्छ उसै गरी सेव ागर्ने हो ।,’ उनले आफूकहाँ उपचाररत बिरामीलाई बीरमा सिफ्ट गर्ने योजना बनाएको समेत सुनाए ।

‘वीर र ट्रमाबीच युनिफाइड रुपमा उपचार हुन्छ । दुबै ठाँउमा डाक्टरहरुले सेवा गर्नुहुन्छ । यहाँको सेवा तत्कालको लागि वीरको एउटा युनिटमा राख्न सकिन्छ,’उनले भने ।

यता वीर अस्पताल प्रशासन आफ्नो नयाँ सर्जिकल भवनमा सके भोलि नसके पर्सीबाट नै १०० बेडको कोभिड युनिट सञ्चालनमा ल्याउने योजनामा रहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डीन प्राडा सुवोधकुमार अधिकारीले सकेसम्म आइतबार बेलुका नभए सोमबार विहानसम्म सर्जिकल भवनमा कोभिड युनिट सञ्चालनमा आउने बताए ।

उनले सुरुमा १०० बेड सञ्चालनमा ल्याइ हाल्ने र त्यसपछि थप १०० गरी कुल २०० युनिट तत्काल नै सञ्चालनमा ल्याउन लागिएको जानकारी दिए । ‘त्यसका लागि अक्सिजन लाइन र बेडहरु मिलाउने काम भइरहेको छ,’ उनले भने ।

त्यसो त वीरको पुरानै भवनमा करीब डेढ सय बेड कोभिड बिरामीका लागि छुट्याइएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *