१५ जना सांसद र १५ जना कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौँ, २४ बैशाख । प्रतिनिधि सभाका १५ जना सदस्य (सांसद)हरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै उनीहरुसंग जोडिएका अरु १५ जना कर्मचारीलाई पनि संक्रमण देखिएको छ ।

आगामी २७ बैशाखका लागि डाकिएको संसदको विशेष अधिवेशनमा सहभागी हुनका लागि संघीय संसदले प्रतिनिधि सभाको १९५ जना सांसद सहित १ हजार १३४ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये अहिलेसम्म करीब ६ जनाको रिपोर्ट सार्वजनिक भएको हो ।

बुधबार र विहीबार गरी १ हजार १३४ जनाको पीसीआर परीक्षणका लागि स्वाव लिइएको थियो । त्यसमध्ये करीब ६ सय जनाको रिपोर्ट आइसकेको छ । त्यसमा १५ जना सांसद र १५ जना कर्मचारीको रिपोर्ट पोजेटिभ आएको छ । बाँकीको रिपोर्ट भने आज दिउसोसम्ममा प्राप्त हुने जानकारी पाएको संघीय संसदका प्रवक्ता डा रोजनाथ पाण्डेले बताए ।

यसअघि हिजो सांसदहरुमा लक्ष्मणलाल कर्ण, नरमाया ढकाल, रामबाबु यादव र पार्वता डिसी चौधरीको रिपोर्ट पोजेटिभ आएको थाहा भएको थियो । कर्ण, ढकाल र यादव जनता समाजवादी पार्टीबाट निर्वाचित सांसद हुन् भने चौधरी नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् ।

तर, अहिले पोजेटिभ भएर थपिएका सांसद तथा कर्मचारीको नाम सार्वजनिक भएको छैन् । ‘म अहिले बाटोमा छु । को को लाई संक्रमण देखियो त्यो सूची अहिले म संग छैन् । तर १५ जना सांसद र १५ जना कर्मचारीलाई कोरोना पुष्टि भएको हो,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *