कोभिडबिरुद्धको खोप लगाउने कार्यक्रम तत्कालका लागि रोकियो

काठमाडौँ, १५ बैशाख । सरकारले कोभिडबिरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । बिहीबार (भोली) देखि लागू हुने गरी अहिले चलेको पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको हो । पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा भेरोसेलको पहिलो डोज र कोभिडसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन गरेको थियो ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले कोभिडबिरुद्धको खोप कार्यक्रम विहीबारबाट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताए । उनले भने,  ‘हामीले आज पनि काठमाडौँ उपत्यकामा कोभिडबिरुद्धको पहिलो डोज खोप भेरोसेल दिइरहेका थियौं । केही ठाँउमा कोभिसिल्डको दोस्रो डोज पनि लगाएका थियौं । तर अब भोलिबाट अर्को सूचना नआएसम्मका लागि कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम स्थगित गरिएको छ ।’

कोभिडविरुद्धको संक्रमण बढ्दै जाँदा सरकारले काठमाडाँै उपत्यका सहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा आव्हान गरेको छ । पछिल्ला दिनमा उपत्यकाका खोप केन्द्रहरुमा खोप लगाउन जानेहरुको भिड हुँदा थप जोखिम हुनसक्ने भन्दै उल्टो आलोचना भएको थियो ।

पछिल्लो पटक चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा २ लाख ६० हजार बढीले लगाएका छन् । गत १४ माघ देखि १० फागुनसम्म कोभिसिल्डको पहिलो मात्रा लगाएका ४ लाख ३९ हजार मध्ये ३ लाख ६२ हजारले दोस्रो मात्रा लगाएका छन् । २३ फागुनपछि ६५ बर्ष माथिकालाई समेत देशव्यापी रुपमा दिन थाल्दा थप १८ लाख बढीले खोप पाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *