राजदूतहरुसंग भेटघाट बढाउँदै स्वास्थ्यमन्त्री त्रिपाठी

भेटवातापछि स्वास्थ्य मन्त्री त्रिपाठी र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सक

काठमाडौँ, १५ बैशाख । देशमा कोरोना संक्रमणले तिब्रता दिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कुटनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । पछिल्लो पाँच दिनमा मात्रै उनले पाँच देशका राजदूतसंग प्रत्यक्ष र भरच्युअल भेटघाट गरेका छन् ।

त्रिपाठीको सचिवालयका अनुसार आज विहान नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकोभसंग भेटघाट गरेका त्रिपाठीले मंगलबार नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकसंग भेट गरेका थिए । चार दिन अघि नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रासंग पनि भेटघाट भएको थियो । त्यसबाहेक नेपालका लागि युएईका राजदूत, नेपालका लागि साउदी अरवका राजदूत लगायतसंग पनि टेलिफोनमा भेटघाट गरेका छन् ।

सचिवालय स्रोत भन्छ, मन्त्री ज्यूले भेटघाट र कुराकानी गर्नुको उद्धेश्य कोरोना नियन्त्रणका लागि आवश्यक सहयोग गर्नुहोस भन्नका लागि नै हो ।

के के भयो त कुराकानी ?
कोरियन राजदूतसंगको भेटघाटमा पनि मन्त्री त्रिपाठीले भेन्टिलेटर, अक्सिजन कन्सनट्रेटर, अक्सिजन सिलिन्डर सहयोगका लागि आग्रह गरेका थिए । ‘खोपको विषयमा पनि कुरा गर्न खोजेको हो तर कोरिया आफै खोपको समस्यामा परेको रहेछ । त्यहाँका जनताले खोप पाउन निकै मुस्किल परेको जानकारी पाएपछि त्यसविषयमा खासै कुरा भएन,’ सचिवालय स्रोतले भन्यो ।

रसियासंग २० – ३० लाख खोप अनुदानमा माग
रसियामा उत्पादित कोभिडबिरुद्धको खोप स्पुतनिक भी लाई नेपालले आकस्मिक प्रयोगका लागि स्वीकृति दिईसकेको छ । यो अवस्थामा खोप कम्पनीका रसियन टोली पनि आफ्नो खोप खरीदलागि आग्रह गर्न स्वास्थ्य मन्त्रीसंग पुगिसकेका छन् ।

आज विहान मात्रै रसियन राजदुत नोभिकोभले समेत भेटवार्ता गरेका थिए । ‘त्यसबेला पनि मन्त्री ज्यूले कम्तीमा २०-३० लाख डोज खोप अनुदानमा उपलव्ध गराईदिनु भनेर आग्रह गर्नु भएको छ । पहिला अनुदानमा खोप दिनु त्यसपछि हामी किनौला पनि । मन्त्री ज्यूले यसैगरी भनिरहनु भएको छ,’ सचिवालय स्रोतले भन्यो ।

खाडी मुलुकका नेपालमा रहेका राजदूतसंग पनि मेडिकल इक्वीपमेन्ट, भेन्टिलेटर, अक्सिजन कन्सनटेटर, अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य उपकरण सामग्रीहरु सहयोगका लागि आग्रह गरेको ती सदस्यले बताए ।

भेटवार्ता र टेलिफोनमा सबैले नै नेपाललाई सहयोग गर्न इच्छुक रहेको भन्दै सहयोगका आश्वासन समेत दिने गरेका छन् । तर त्यो सहयोग कहिलेसम्म आइपुग्ने हो भन्न भने सकिएको छैन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *