सबै सरकारी अस्पतालमा ५० प्रतिशत बेड कोभिड-१९ उपचारका लागि छुट्याउन निर्देशन

काठमाडौँ, २ बैशाख । सरकारले आफू मातहतका सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड -१९ का बिरामी व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ । देशमा कोरोना संक्रमण पुन: तिब्र गतिमा फैलिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले अत्यन्त जरुरी भन्दै विहीबार जारी गरेको सूचनामा सबै सरकारी अस्पतालमा कोभिड -१९ का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । कोभिडका बिरामीलाई यसअघि तोकिए अनुसार नै नि:शुल्क सेवा प्रदान गर्न समेत निर्देशन दिइएको छ ।

यस्तै मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड -१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले २ हजार रुपैयाँ नबढाई शुल्क लिन सक्ने उल्लेख गरेको छ ।

कोभिडको उपचार गर्ने निजी अस्पतालले संक्रमितको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीको लागि प्रतिदिन ३ हजार ५०० रुपैयाँ, मध्यम अवस्थाका लागि प्रतिदिन ७ हजार रुपैयाँ र जटिललाई प्रतिदिन १५ हजार रुपैयाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी लिन सक्ने उल्लेख गरेको छ ।

मन्त्रालयले निजी अस्पतालहरुमा नियमित सेवा लिन आएकाहरुलाई कोभिड-१९ पुष्टि भएकाले मात्रै अन्यत्र रिफर नगर्न समेत अनुरोध गरेको छ । यस्तै सबै अस्पताललाई फिवर क्लिनिक सञ्चालनमा ल्याउन तथा कोभिड- १९ को परीक्षणका लागि नमूना संकलन गर्ने तथा परीक्षणको व्यवस्था मिलाउने तर्फ पनि ध्यान दिन आग्रह गरेको छ ।

पछिल्लो दुई साता यता नेपालमा कोरोना संक्रमण पुन बढ्दो क्रममा छ । आजको दिनमा देशभर ४ हजार ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *