नेपालमा भारतीय व्यापारीलाई चिनियाँ खोप नदिइने

काठमाडौँ, २ बैशाख । सरकारले भारतीय व्यापारीलाई नेपालमा आएर खोप चिनियाँ खोप लगाउन रोक लगाएको छ ।यसअघि चीनमा कारोवार गर्ने केही भारतीय व्यापारी काठमाडौँ आएर चिनियाँ खोप लगाएका थिए । उनीहरु टेकु अस्पताल पुगेर खोप लिइएको बताइको छ ।

‘अहिलेसम्म १५ – २० जनाले लगाए होला । तर मैले कडाईका साथ निर्देशन दिएको छु अब चाँही त्यस्ता व्यक्तिले खोप लगाउन पाउँदैनन्,’ टेकु अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीले भने । उनले आज पनि केही भारतीय खोप लगाउन आएको भन्दै सबैलाई फर्कादिइएको बताए ।

‘स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा झलक गौतमले काठमाडौँमै डेरा गरी बस्ने फलफुल तथा तरकारी व्यापारीहरुले पहिले खोप लगाएको तर पछि भारतबाट नै सीमापार व्यापार गर्ने व्यक्तिहरु खोप लगाउन आएको आफूले जानकारी पाएको बताए । ‘यहाँ फलफुल तथा तरकारी बेच्ने भारतीय नागरिकलाई पनि हामीले नेपाली व्यापारीहरुसंगै मिलाएर खोप दिएका थियौं । तर भारतबाट नै सीमापार व्यापार गर्नेहरु आएको जानकारी पाएपछि त्यस्तो व्यक्तिहरुलाई त रोक लगाएका छौँ,’ उनले भने ।

डा गौतमले दुतावासबाट सिफारिस लिएर आउनेहरुलाई भने खोप लगाउन नरोकिएको बताए । उनले अहिलेसम्म भारतीय दुतावासबाट चिनियाँ खोप लगाउनका लागि सिफारिस लिएर आएको आफूले जानकारी नपाएको स्पष्ट पारे ।
‘अब त कि नेपाल सरकारले दिएको परिचयपत्र चाहियो कि त दुतावासले दिएको सिफारिस पत्र चाहियो । अन्यथा खोप पाइदैन,’ उनले भने ।

सरकारले गत २५ चैत देखि चीन सरकारको सहयोगमा प्राप्त ८ लाख डोज खोप भेरोसेल लगाउन शुरु गरेको थियो । सो खोप १८ बर्ष देखि ५९ बर्ष उमेर समूहका लागि दिइएको थियो ।

चीनमा अध्ययन तथा व्यापार व्यावसाय गर्ने व्यक्तिहरु पहिलो प्राथमिकतामा परेका थिए । यस्तै फलफुल तथा तरकारी व्यापारी, औषधि व्यावसायी, खेलाडीहरु समेत यो सूचीमा परेका थिए । गत ३० चैत देखि ४० बर्ष देखि ५९ बर्ष उमेर समूहका आम सर्वसाधारणलाई खोप उपलव्ध गराउने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *