भारतमा कोरोनाबाट एकै दिन १ लाख ९९ हजार बढी संक्रमित

काठमाडौँ, २ बैशाख । भारतमा कोरोना संक्रमणले विकराल रुप लिएको छ । पछिल्लो चौविस घण्टामा देशमा १ लाख ९९ हजार ३७६ जना नयाँ संक्रमित थपिएका छन् । सोही अवधीमा ९३ हजार ४१८ जना निको भए भने एक दिनमै १ हजार ३७ जनाको संक्रमणबाट ज्यान गएको छ ।

भारतीय सञ्चारमाध्यमहरुले पछिल्लो चौविस घण्टाको संक्रमणको विवरण गत बर्ष उच्चतम विन्दुमा पुग्दा देखिएको भन्दा दोब्बर बढी रहेको उल्लेख गरेका छन् । गतवर्ष संक्रमण उच्चतम विन्दुमा पुगेको दिन १६ सेम्टेम्बरमा ९७ हजार ८६० जनामा संक्रमण देखिएको थियो ।

पछिल्लो विवरणसंगै देशमा सक्रिय संक्रमितको संख्या १४ लाख ६५ हजार ८७७ पुगेको छ ।

उत्तरप्रदेशमा पनि तोडियो रेकर्ड
यसैबीच नेपालको सिमावर्ती भारतीय राज्य उत्तरप्रदेशमा पनि कोरोना संक्रमणले अवस्था बिग्रँदै गएको छ । युपीमा बुधबार अहिलेसम्मकै सबैभन्दा बढी संख्यामा संक्रमित थपिएका छन् ।

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यहाँ पहिलो पटक बुधबार २० हजार ५१२ जना संक्रमित एकै दिन थपिएका हुन् । युपीमा ७ अप्रिलमा ६ हजार २ जनामा संक्रमण देखिएको थियो । तर एक सातामा सख्या तीन गुणा बढी देखिएको छ ।

युपीका अस्पतालमा बेड, अक्सिजन तथा भेन्टिलेटरको अभाव देखिन थालेको छ । यस्तै पुरै राज्यमा रेम्डेसिभिर औषधिको पनि कमी हुन थालेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

रेम्डेसिभिर औषधिको मूल्य ३५०० तोकियो
भारतको केन्द्र सरकारले अभाव हुँदै गएको रेम्डेसिभिर औषधिको मुल्य तोकेको छ । केन्द्रीय मन्त्री मनसुख मंडावियाका अनुसार यसै साताको अन्त्य देखि रेम्डेसिभिरको मुल्य ३ हजार ५०० हुनेछ ।

उनले अप्रिलको अन्तिमबाट यसको उत्पादन पनि दोब्बरले बढ्ने बताए । यसका लागि थप ६ कम्पनीहरुलाई पनि उत्पादनका लागि मञ्जुरी दिइएको मन्त्री मंडावियाले भने ।

अहिले भारतले नेपाल सहित विश्वका धेरै देशमा रेम्डेसिभिर औषधिको निर्यात बन्द गरेको छ । आफ्नो देशमा संक्रमित अनियन्त्रित हुन थालेको भन्दै तत्कालका लागि रेम्डेसिभिर निर्यातमा रोक लगाएको सरकारले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *