त्रिविले कीर्तिपुरमा १५०० शैय्याको ‘सुपरस्पेसियालिटी’ अस्पताल बनाउने

काठमाडौँ, २९ चैत । त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरमा १ हजार ५०० शैय्याको ‘सुपरस्पेसियालिटी’ केन्द्र (अस्पताल) बनाउने भएको छ । विश्वविद्यालयले महाराजगञ्जमा रहेको आफ्नो ‘टिचिङ’ अस्पतालकै विस्तारित स्वरुपमा कीर्तिपुरमा ‘सुपरस्पेसियालिटी’ केन्द्र बनाउन लागेको हो ।

त्यसका लागि त्रिविले करीव ३०० रोपनी जग्गा छुट्याएको छ । सो जग्गामा मेडिकल सुपरस्पेसियालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बन्ने छन् ।

‘त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तरगर्त नेफ्रोलोजी तथा युरोलोजी लगायतका अन्य जटिल रोगको अध्ययन् अध्यापन तथा तालिमसहित विशिष्टकृत स्वास्थ्य सेवा प्रदान गर्ने मेडिकल सुपरस्पेस्यालिटी केन्द्र र राष्ट्रिय रोग निदान केन्द्र बनाउने हो,’आइओएमकी डीन प्राडा दिव्यासिंह शाहले भनिन् ।

त्यहाँ केन्द्र स्थापना गर्नकै लागि गत चैत २० गते बसेको मन्त्रिपरिषद बैठकले सरकारको नाममा रहेका ६० रोपनी जग्गा त्रिविलाई उपलव्ध गराउने निर्णय गरेको छ ।

‘२० चैतको मन्त्रिपरिषद बैठकले नेपाल सरकारको नाममा रहेको ६० रोपनी जग्गा त्रिविलाई फर्काउने निर्णय गरेको छ । जग्गा त्यति मात्रै होइन हामीले त्रिविकै अरु जग्गा समेत लिनेछौँ । त्यहाँ १ हजार ५ सय शैय्याको सुपरस्पेस्यालिटी केन्द्र बन्दैछ । नयाँ संरचनाले करीव २५० देखि ३०० रोपनी जग्गा ओगटछ,’ प्राडा शाहले भनिन् ।

उनले नयाँ संरचनामा युरोलोजी र नेफ्रोलोजी बाहेक न्युरो सर्जरी, पल्मोनरी, कार्डियोलोजी, ग्यास्ट्रोलोजी लगायतका विभिन्न विषयमा सुपरस्पेसियालिटी सर्भिस हुने बताइन । उनले त्यहाँ सेवासंगै अध्ययन् अनुसन्धान हुने बताइन ।

‘महाराजगञ्जमा थप सेवा विस्तार गर्न स्थान अभाव भयो । बढदो जनसंख्या र विकास संगै नयाँ र उच्चस्तरीय प्रविधि, अध्ययन् अनुसन्धान हुन जरुरी छ । महाराजगञ्जमा अब स्थान अभाव भयो । त्यसैले उच्चस्तरीय सेवा दिने गरी कीर्तिपुरमा केन्द्र खोल्न लागेका हौँ,’ प्राडा शाहले भनिन् ।

उनले एक महिना भित्र नक्सा डिजाइन सहितको डीपीआर तयार हुने र त्यसपछि बजेट र अरु थप कामहरु अघि बढ्ने बताइन । ‘सकेसम्म छिटो तयार गरी सेवा सुरु गर्ने भन्ने योजनामा छौं,’ उनले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *