कोभिडविरुद्धको चिनियाँ खोप दुई दिनमा आठ हजार बढीले लगाए

युवा क्रिकेटर सन्दीप लामिछाने गत बुधबार चावहिलस्थित ओम अस्पताल पुगेर भेरोसेलको पहिलो डोज लगाउँदै

काठमाडौँ, २७ चैत । कोभिडबिरुद्धको खोप ‘भेरोसेल’ दुई दिनमा ८ हजार ५४ जनाले लगाएका छन् । बुधबार र विहीबार १८ देखि ५९ बर्ष उमेर समूहमा रही खोप लगाउने प्राथमिकतामा परेकामध्ये ८ हजार ५४ जनाले सो खोप लगाएका हुन् ।

चीन सरकारको अनुदानमा प्राप्त ८ लाख डोज खोप गत बुधबारबाट काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ७ जिल्लाका २३ स्थानमामा लगाउन शुरु गरिएको छ ।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले बुधबार भेरोसेलको पहिलो डोज लगाउने अभियान करीव एक साता चलाउने बताएको छ ।

यसअघि महाशाखाले यो खोप १८ देखि ५९ बर्ष उमेर समूहका प्राध्यापकहरु, चीनमा छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थीहरु, चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्ति, हिमालय पार व्यापार गर्ने नेपाली व्यापारीले पाउने बताएको थियो ।

यस्तै अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप दिइने जनाएको थियो ।

यसैगरी महाशाखामा खोपका लागि निवेदन दिएका संघसंस्थाहरु र यसअघि खोप लगाउन छुट भएका अंग्रपंक्तिमा खटिने व्यक्तिहरुले पनि यो खोप लगाउन सक्नेछन ।

यो खोप पहिलो डोज लिएको २८ दिन पछि दोस्रो डोज लिनुपर्ने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले बताए ।

चिनियाँ खोप कम्पनी सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको सार्स कोभ–२ भ्याक्सिन ९भेरोसेल० खोपको ८ लाख डोज गत १६ चैतमा नेपाल आएको थियो ।

कहाँ कहाँ गएर लगाउने खोप ?
महाशाखाले माथि उल्लेखित व्यक्तिहरुले तोकिएका अस्पताल तथा स्वास्थ्य संस्थामा गएर खोप लगाउन सक्ने बताएको छ । खोप लगाउन जाँदा आफ्नो प्रमाणित परिचयपत्र सहित जान भनेको छ ।

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल
२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली
३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
४. निजामती कर्मचारी अस्पताल मिनभनव
५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर
६. नेपाल मेडिकल कलेज अत्तरखेल
७. काठमाडौँ मेडिकल कलेज सिनामंगल
८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज
९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी
१०. बीरेन्द्र अस्पताल छाउनी
११. एपीएफ अस्पताल बलम्बु
१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी
१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल
१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी
१५. भक्तपुर अस्पताल भक्तपुर
१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी
१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर
१८. किष्ट मेडिकल कलेज ललितपुर
१९. आनन्दवन अस्पताल ललितपुर
२०. धुलिखेल अस्पताल काभ्रे
२१. त्रिशुली अस्पताल नुवाकोट
२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक
२३. जिल्ला अस्पताल रसुवा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *