भारतमा कोरोना संक्रमण एक दिनमै थपिए १ लाख २६ हजार बढी संक्रमित

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणको दिनहुँ उच्च रेकर्ड कायम गर्न थालेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार मात्रै देशभर १ लाख २६ हजार १९८ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना महामारी सुरु भए यताको एकै दिन सबैभन्दा बढी संक्रमित देखिएको बुधबार नै हो । सोही दिन कोभिड -१९बाट ६८४ जनाको ज्यान गएको छ । ५९ हजार संक्रमितहरु भने निको भएर घर फर्केका छन् ।

संक्रमणको सबैभन्दा बढी चपेटामा परेको महाराष्ट्रमा पछिल्लो चौविस घण्टामा ५९ हजार ९०७ जना नयाँ संक्रमित फेला परेका छन् । त्यहाँ बुधबार मात्रै ३२२ जनाको संक्रमणबाट ज्यान गएको छ ।

लखनउमा दोस्रो डोज समेत खोप लिएका ३८ डाक्टर सक्रमित
यता उत्तरप्रदेशको राजधानी लखनउस्थित किंग जर्ज मेडिकल युनिभर्सिटीका कुलपति समेत ३८ जना डाक्टर र ३ जना स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबैले दोस्रो डोज खोप लिइसकेका हुन् । युनिभर्सिटीका प्रवक्ता डा सुधीर कुमारका अनुसार कुलपति लेफ्टिनेन्ट जनरल डा विपिन पुरी दोस्रो पटक संक्रमित भएका हुन् । उनी गतवर्ष पनि संक्रमित भएका थिए । अहिले उनी होम आइसोलेसनमा बसेका छन् ।

प्राथमिकताको आधारमा खोप दिइने : स्वास्थ्य मन्त्री हर्षबर्धन
केन्द्रीय स्वास्थ्य मन्त्री डा हर्षबर्धनले आवश्यकता र प्राथमिकताका आधारमा खोप दिइने बताएका छन् । उनले देशमा खोपको कमि नभएको समेत स्पष्ट पारेका छन् ।

बुधबार सञ्चारकर्मीसंग बोल्दै उनले जुन राज्यहरुमा खोप अभाव भयो वा लगाउन पाइएन भन्ने विवरण आएको छ त्यहाँ राजनीति भइरहेको छ । १८ देखि २० बर्षका नागरिकलाई खोप दिन माग गरिएको छ । जो अहिले प्राथमिकतामा परेका छैनन् ।

उनले प्राथमिकताका आधारमा सबैले खोप पाउने बताए । पछिल्ला दिनमा छत्तिसगढ, महाराष्ट्र, मध्येप्रदेश, दिल्ली लगायतका कैयौ राज्यका शहरहरुमा खोप अभाव भएको भन्दै अभियान स्थगित भएका समाचारहरु आउन थालेको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *