भारतमा कोरोना संक्रमण अहिलेसम्मकै उच्च, एकै दिन थपिए १ लाख १५ हजार बढी

काठमाडौं, २५ चैत । भारतमा कोरोना संक्रमणले फेरी पुरानो रेकर्ड तोडेको छ । मंगलबार एकै दिन देशभर १ लाख १५ हजार २३९ जनामा कोरोना संक्रमित थपिएका छन् । यसअघि सबैभन्दा बढी गत ४ अप्रिलको दिन भेटिएका थिए । त्यसदिन १ लाख ३ हजार बढी कोरोना संक्रमित थपिएका थिए ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार मात्रै थप ६३० जना संक्रमितको ज्यान गएको छ ।

मंगलबार पनि सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा भेटिए । त्यहाँ हिजो मात्रै ५५ हजार ४६९ जना नयाँ संक्रमित थपिएका छन् । दोस्रो नम्बरमा छत्तिसगढ जहाँ ९ हजार ९२१ जना थपिएका छन् ।

यता कोरोना केश बढेपछि दिल्लीस्थित एम्स अस्पतालले ८ अप्रिल देखि ओपीडी सेवा स्थायी रुपमा नै बन्द गरेको छ । यससंगै अव बिरामीहरु परीक्षणका लागि भन्दै एम्स अस्पतालमा जान सक्नेछैनन् ।

‘सबैलाई खोप दिन सकिदैन’
यता केन्द्र सरकारले अहिले नै सबैका लागि खोप दिन नसकिने जनाएको छ । स्वास्थ्य सचिव राजेश भुषणले मंगलबार भने, ‘कतिपय व्यक्तिले सोध्ने गरेका छन् कि सबैका लागि खोप लगाउने अभियान किन सुरु भएको छैन भनेर । तर कुरा के हो भने यस्तो खोप अभियानको दुई लक्ष्य हुन्छ । पहिलो बिरामीबाट हुने मृत्यु रोक्न र दोस्रो स्वास्थ्य प्रणालीलाई बचाई राख्न । हाम्रो लक्ष्य यो होइन कि जसले खोप किन्न सक्यो उसलाई पहिला खोप लगाइदिने । हाम्रो लक्ष्य त सबैभन्दा आवश्यकता कसलाई छ त्यसलाई पहिले दिनु हो ।’

यसअघि दिल्लीका मुख्य मन्त्री अरविन्द केजरीवाल र राजस्थानका मुख्य मन्त्री अशोक गहलोतले १८ बर्ष माथिका सबैलाई खोप अभियानमा सहभागी गराई खोप दिन माग गरेका थिए ।

भारतमा मंगलबार राती ८ बजेसम्म ८ करोड ४० लाख भन्दा बढीले कोभिडबिरुद्धको खोप पाएका छन् । त्इसमा सबैभन्दा बढी ८९ लाख ६० हजार बढी स्वास्थ्यकर्मीले पहिलो डोज र ५३ लाख ७७ हजारले दोस्रो डोज लगाइसकेका छन् ।

दिल्लीमा ३० अप्रिलसम्म रात्रीकालिन कर्फ्यू

यसैबीच दिल्ली सरकारले कोरोना संक्रमण नियन्त्रणमा लिन भन्दै रात्रीकालिन कर्फ्यू लगाउने घोषणा गरेको छ । त्यहाँ आगामी ३० अप्रिलसम्म राती १० देखि विहान ५ बजेसम्मका लागि रात्रीकालिन कर्फ्यू लगाउन थालिएको हो ।

दिल्लीमा पछिल्लो चार दिन यता हरेक दिन संक्रमितको संख्या ३ हजार ५ बढी देखिन थालेको छ । त्यहाँको पोजेटिभ रेट पनि ५.५ प्रतिशत रहेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *