तयारी विना नै सिनेट बैठक डाकेपछि न्याम्सका पदाधिकारीमाथि चर्को आलोचना


काठमाडौँ, २३ चैत । तयारी विना नै सिनेट बैठक डाकेको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी माथि चर्को आलोचना भएको छ । आइतबार बसेको बैठकमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी सहित अन्य सिनेट सदस्यहरुले न्याम्सका पदाधिकारीमाथि चर्को आलोचना गरेका हुन् ।

विहान साढे ११ बजे देखि साढे ४ बजेसम्म भएको बैठकमा प्रमुख अतिथि बनेका मन्त्री त्रिपाठीले पदाधिकारीको कार्य क्षमतामा पटक पटक प्रश्न उठाएका थिए । उनले सिनेटमा पेश गरिएको प्रस्तावहरुको विषयमा समेत तयारी नभएको पाइएको बताए ।

‘न्याम्स यसरी चल्न सक्दैन । विना तयारी ल्याइएका एजेन्डामा मैले समर्थन गर्न सक्दिन । यस्तो फितलो कार्य शैलीले तपाईँहरुको क्षमतामा समेत प्र्रश्न उठाएको छ,’ एजेन्डा सुनेपछि मन्त्री त्रिपाठीले पदाधिकारीलाई शुरुमै भनेका थिए ।

उनले बोलिसकेपछि अधिकांश सिनेट सदस्यहरुले पदाधिकारीहरुको चर्को आलोचना गरेका थिए ।

‘समग्रमा हिजोको बैठक निकै फितलो भयो । सिनेट बैठक भन्न पनि लाजमर्दो भयो । पदाधिकारीहरुको कार्यक्षमतामा मन्त्री सहित सबैले गम्भीर ढंगले प्रश्न उठाए । कतिले त यस्तो आलोचित बनेर पदमा टासिई रहनु राम्रो नहुने भन्दै मार्ग प्रसस्त गर्न समेत सुझाव दिए,’ एक जना सदस्यले नेपाली हेल्थलाई बताए ।

हुन पनि सबै सरकारी निकायमा यतिवेला आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम, बजेट बनाउने चटारो छ । स्वास्थ्यका धेरै निकायहरुले मन्त्रालयमा आगामी बर्षका लागि बजेट तथा कार्यक्रमहरु पेश गरिसकेका छन् । तर न्याम्सका पदाधिकारीहरुले आइतबारको सिनेट बैठकमा चालु आर्थिक बर्षको बजेट पास गर्ने मुख्य एजेण्डा बनाएका थिए । आर्थिक बर्ष सकिने बेलामा बजेट पास गर्ने मुख्य एजेण्डा देखेपछि मन्त्री शुरुमै असन्तुष्ट बनेका थिए ।

‘यो त उहिले नै गर्नु पर्दथ्यो । कोरोना कालमै पनि भर्चुअल रुपमा यो कार्यक्रम सम्पन्न गर्नु पर्दथ्यो । नयाँ बजेट बनाउनु पर्ने बेलामा पुरानो बजेटको कुरा आएको छ । यस्तो फितलो तयारीमा पनि बैठक बोलाउने हो ?’ मन्त्रीको कुरा उल्लेख गर्दै एक सदस्यले भने ।

शुरु देखि नै असन्तुष्ट बनेका मन्त्री त्रिपाठीले बजेट पास गर्ने प्रस्तावमा स्वीकृति दिएनन् । उनले अलि तयारीका साथ बैठकमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।

एजेन्डा पास नभएपछि पुन: छिटै अर्को बैठक बस्ने गरी स्थगित भएको छ ।

यसअघि बिरामी सहजता, अस्पताल सुधार तथा कर्मचारीको सुविधाका विषयमा एजेन्डा नभएको भन्दै त्यहाँका कर्मचारीहरुले सिनेट बैठकको औचित्यमै प्रश्न उठाएका थिए । उनीहरुले समेत न्याम्सका पदाधिकारीहरुको कार्य क्षमतामा प्रश्न उठाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *