सेरमले पठाउन बाँकी रहेको १० लाख डोज कोभिसिल्ड अप्रिलको पहिलो साता आउने

काठमाडौँ, १२ चैत । सेरम इन्स्टिच्युट अफ इन्डियाले सम्झौँता अनुसार नेपाललाई पठाउन बाँकी १० लाख डोज कोरोनाबिरुद्धको खोप कोभिसिल्ड आगामी अप्रिल महिनाको पहिलो सातासम्ममा काठमाडौँ आइपुग्ने भएको छ । नेपाललाई सहज रुपमा खोप उपलव्ध गराउन समन्वय गरिरहेको काठमाडौँस्थित भारतीय दुतावास स्रोतले यस्तो जानकारी दिएको हो ।

‘अहिलेसम्म आईसक्नु पर्ने हो तर खोपको माग यति बढी भयो कि चाहेर पनि पठाउन सकेन । तर अब ढिलाई हुँदैन् । अप्रिलको पहिलो सातासम्ममा खोप आईसक्छ,’ स्रोतले भन्यो ।

भारत सरकारको अनुदानमा १० लाख डोज कोभिसिल्ड खोप प्राप्त गरिसकेपछि सरकारले गत १४ माघ देखि खोप अभियान शुरु गरेको थियो । गत ५ फागुनमा भारत सरकारकै समन्वयमा नेपालले सेरमसंग प्रतिडोज ४ डलरको दरमा अग्रिम भुक्तानी गरि थप २० लाख डोज कोभिसिल्ड खरीद गर्ने सम्झौँता गरेको थियो । सो सम्झौँता अनुसार १० लाख डोज त्यतिवेला नै आएको थियो । तर थप १० लाख डोज भने रोकिएको थियो ।

भारतमा पछिल्लो समय कोरोना संक्रमण तिब्र गतिमा बढदै त्यहाँको सरकारले आफ्ना नागरिकलाई खोप दिने कार्यलाई समेत तिब्रता दिने बताएको छ । सोही कार्यलाई सहयोग पुरयाउन अनिश्चित कालका लागि खोप निर्यात रोक्ने सरकारले निर्णय गरेको भन्ने खालका समाचारहरु विहीबार भारतीय सञ्चारमाध्यमरुले उल्लेख गरेका छन् ।

तर काठमाडौँस्थित दुतावास स्रोतले भने पहिल्यै सम्झौँता भई आईपुग्न बाँकी रहेको १० लाख डोज खोपलाई यो निर्णयले असर नगर्ने बताउँछ । ‘अब नयाँ सम्झौँताका लागि केही असर गर्न सक्छ । समय लाग्न सक्छ । तर पुरानोको सवालमा त्यो हुँदैन । खोप अब छिटै आउँछ,’ स्रोतले भन्यो ।

त्यसो त नेपालले कोभ्याक्स सुविधा अन्तरगर्त पहिलो लटमा प्राप्त गरेको ३ लाख ४८ हजार डोज खोप पनि सेरम इन्स्टिच्युट अफ इन्डियाकै उत्पादन हो ।

अहिलेसम्म नेपालमा खरीद र अनुदानको गरी २३ लाख ४८ हजार खोप नेपाल आइसकेको छ । करीब १८ लाख नेपालीले पहिलो डोज खोप लगाईसकेका छन् ।

पहिलो लटमा लगाएका झण्डै ६ लाख व्यक्तिलाई आगामी ७ बैशाखबाट दोस्रो डोज खोप दिईने सरकारले बताईसकेको छ ।

नेपालमा आगामी १५ चैतमा चीनबाट थप ८ लाख डोज कोभिडबिरुद्धको खोप आउँने भएको छ । खोप लिनका लागि सरकारले वाइडवडी जाहाज आगामी १५ चैतमा बेईजिङ पठाउँदै छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *