पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोभिड–१९ सङ्क्रमण

इस्लामावाद, ७ चैत । पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ विरूद्धको पहिलो खोप लगाएको ठीक दुई दिनपछि उनलाई सङ्क्रमण पुष्टि भएको हो ।

अठ्सट्ठी बर्षीय प्रसिद्ध पूर्व क्रिकेट खेलाडीसमेत रहेका प्रधानमन्त्री खानले बिहीबार चीनमा विकास गरिएको सिनोफार्म खोप लगाएका थिए ।

पाकिस्तानी सूचना मन्त्री शिब्ली फराजले जियो न्यूज टेलिभिजनसँगको कुराकानीमा प्रधानमन्त्री खानले खोप लगाउनुभन्दा पहिले नै सार्वजनिक कार्यक्रमहरूमा सक्रिय रहेकाले त्यही समय सङ्क्रमण सरेको हुनसक्ने बताए ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्ति जारी गरी भनेको छ, “अहिले हामी यति मात्र भन्न सक्छौँ कि प्रधानमन्त्री खानलाई सङ्क्रमण पुष्टि भएको छ र उहाँले आफूलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्नुभएको छ ।”

प्रधानमन्त्री खानलाई शनिबार हल्का खोकी र हल्का ज्वरो आएको उनका प्रवक्ता सहबाज गिलले जानकारी दिए । उनले प्रधानमन्त्री खानले शनिबार नै परीक्षण गराउँदा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको बताए ।

प्रधानमन्त्रीलाई सङ्क्रमण पुष्टि भएपछि विगत केही दिनमा उनको निकट पुगेका व्यक्तिहरूलाई सावधानी अपनाउन भनिएको छ ।

यसैबीच प्रवक्ता गिलले प्रधानमन्त्रीमा सङ्क्रमण पुष्टि हुनुलाई खोपसँग जोडेर नहेरिदिन आग्रह गरेका छन् । ‘खोप लगाएको केही हप्तापछि मात्र शरीरमा कोभिडविरूद्धको प्रतिरक्षा प्रणाली विकास हुने हो । तपाईको मान्यजनहरू तथा प्रियजनलाई खोप लगाउने सुनिश्चित गराउनुहोस् । सचेत रहनुहोस्,’ उनले भने ।”

पाकिस्तानमा शनिबारसम्ममा छ लाख २० हजार सङ्क्रमित रहेको सरकारी तथ्याङ्क रहेको छ भने यहाँ कोभिड–१९ सङ्क्रमित १३ हजार ८०० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

पाकिस्तानले चीनबाट सहयोगप्राप्त १० लाख खोपलाई प्रथमिकताका आधारमा स्वास्थ्यकर्मी तथा अग्रपङ्तीमा खटिने कर्मचारी पत्रकारलगायतका जोखिममा रहेका व्यक्तिहरूलाई दिन सुरू गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *